टोकियो – जापानमा व्यक्तिगत परिचयपत्रका रूपमा प्रयोग हुने ‘माई नम्बर’ कार्ड लिनेहरूको संख्या १० करोड नाघेको छ । जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले शुक्रबार एक तथ्याङ्क सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार बुधबारसम्मको विवरण हेर्दा १० करोड २९ हजार ८०४ जनाले यो कार्ड लिइसकेका छन् । यो संख्या जापानको कुल जनसंख्याको ८०.३ प्रतिशत हो । एक पत्रकार सम्मेलनमा बोल्दै आन्तरिक मामिला मन्त्री योशिमासा हायासीले भने, ‘कार्डको उपयोगिता र सेवा विस्तार गर्न गरिएका विभिन्न प्रयासहरूकै नतिजा स्वरूप यो उपलब्धि हासिल भएको हो ।’
जापान सरकारले सन् २०१६ देखि ‘माई नम्बर’ कार्ड वितरण सुरु गरेको थियो । पछिल्लो समय सरकारले यसलाई जनस्वास्थ्य बीमा प्रमाणपत्रसँग एकीकृत गर्ने र स्मार्टफोनबाटै विभिन्न सेवाहरू लिन सकिने व्यवस्था मिलाउँदै यसको प्रयोगलाई प्राथमिकताका साथ अघि बढाएको छ ।








