टोकियो – आगामी केही दशकभित्र जापानको राजधानी टोकियो र यसका आसपासका क्षेत्रमा जान सक्ने शक्तिशाली भूकम्पका कारण १८ हजार मानिसको मृत्यु हुन सक्ने अनुमान गरिएको छ ।
जापानी सरकारले शुक्रबार सार्वजनिक गरेको एक मस्यौदा प्रतिवेदनका अनुसार, सबैभन्दा खराब परिस्थितिमा यो विनाशकारी भूकम्पले करिब ८३ खर्ब येन (५३५ अर्ब डलर) बराबरको आर्थिक क्षति पुर्याउन सक्नेछ । ७.३ म्याग्निच्युडको भूकम्पलाई आधार मानेर तयार पारिएको यो प्रतिवेदनले सन् २०१५ को अघिल्लो अनुमानको तुलनामा मानवीय क्षति केही कम हुने देखाएको छ ।
सन् २०१५ मा सरकारले २३ हजार मानिसको मृत्यु र ९५ खर्ब येनको आर्थिक क्षतिको प्रक्षेपण गरेको थियो। भवनहरूलाई भूकम्प र आगलागी प्रतिरोधी बनाउन गरिएका संरचनागत सुधारहरूले यो संख्या घटाउन मद्दत गरेको बताइएको छ । यद्यपि, १० वर्षभित्र सम्भावित मृतकको संख्या आधाले घटाउने सरकारको तत्कालीन लक्ष्य भने पूरा हुन सकेको देखिँदैन ।
७० प्रतिशत जोखिम : सरकारका अनुसार आगामी ३० वर्षभित्र टोकियो र यसको वरपरका क्षेत्रमा यस्तो शक्तिशाली भूकम्प जाने सम्भावना करिब ७० प्रतिशत रहेको छ । अनुमान गरिएको ७.३ म्याग्निच्युडको यो भूकम्प सन् २०११ मा उत्तरपूर्वी जापानमा गएको र फुकुसिमा आणविक भट्टीमा दुर्घटना निम्त्याएको ९.० म्याग्निच्युडको महाभूकम्पभन्दा कम शक्तिको हुनेछ । तर, सरकारी कार्यालय र प्रमुख कर्पोरेट मुख्यालयहरू रहेको घना बस्ती भएको क्षेत्र भएकाले यसले लाखौं मानिसलाई प्रत्यक्ष असर पार्नेछ ।
४ लाख भवन ध्वस्त हुने सम्भावना : मस्यौदा प्रतिवेदनका अनुसार भूकम्पका कारण करिब ४ लाख भवनहरू ध्वस्त हुन सक्नेछन् । यातायात सेवा ठप्प हुँदा करिब ८४ लाख मानिसहरू घर फर्कन नसकी बाटोमै अलपत्र पर्न सक्ने वा कठिनाइको सामना गर्नुपर्ने अवस्था आउन सक्छ ।








