Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २८, २०८३
Thursday, June 11, 2026

टोकियो – जापान प्रहरीले टोकियो र यसका आसपासका क्षेत्रमा भएका शृङ्खलाबद्ध लुटपाटका घटनाका मुख्य योजनाकार (मास्टरमाइन्ड) मानिने चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरू २० देखि ३० वर्ष उमेर समूहका युवाहरू हुन् ।

उनीहरूमाथि गत वर्ष चिबा प्रिफेक्चरमा एक महिलालाई घाइते बनाई लुटपाट मच्चाउने गिरोहलाई निर्देशन दिएको आरोप छ । प्रहरीका अनुसार सन् २०२४ को अक्टोबरमा चिबा प्रिफेक्चरको इचिकावा सहरमा लुटपाटको एक गम्भीर घटना भएको थियो । सो क्रममा ५० वर्षीया एक महिलालाई उनकै घरमा आक्रमण गरी घाइते बनाइएको थियो भने उनको साथमा रहेको नगद र कार लुटिएको थियो ।

यस घटनाका मुख्य योजनाकारका रूपमा फुकुची हिरोतो, साइटो ताकुया, मुराकामी कारुरा र वातानाबे शोताको नाम सार्वजनिक गरिएको छ । प्रहरीले यी चारै जनाले लुटपाटमा संलग्न व्यक्तिहरूलाई आदेश दिएको बताएको छ। घटनामा प्रत्यक्ष संलग्नहरूलाई भने प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।

१८ वटा लुटपाट, ५१ जना पक्राउ
गत वर्षको अगस्ट महिनादेखि टोकियो र तीन छिमेकी प्रिफेक्चरहरूमा लुटपाटका १८ वटा घटनाहरू भएका थिए । अनुसन्धानबाट खुलेअनुसार, अनलाइनमार्फत मानिसहरूलाई भर्ती गरेर यी लुटपाटहरू गराइएको थियो । प्रहरीले यस प्रकरणमा हालसम्म ५१ जनालाई पक्राउ गरिसकेको छ । लुटपाटको यो शृङ्खलामा मुख्य योजनाकारहरू पक्राउ परेको यो पहिलो पटक हो ।

टोकियो, साइतामा, चिबा र खानागावा प्रहरीको संयुक्त कार्यदलले एक पत्रकार सम्मेलन आयोजना गर्दै अनुसन्धानको विस्तृत विवरण सार्वजनिक गरेको छ ।

तपाईको प्रतिक्रिया