समाचार सुन्नुहोस :
काठमाडौँ – निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूलाई समानुपातिक प्रतिनिधित्व (पीआर) तर्फका उम्मेदवारहरूको बन्द सूची पेश गर्न अवधि तोकेको छ।
आयोगका अनुसार मंसिर २१ देखि २३ गतेभित्र समानुपातिक प्रणालीमार्फत चुनावमा सहभागी हुन चाहने दलहरूले आवश्यक निवेदन बुझाउनुपर्नेछ। आवेदन कार्यालय समयभित्र काठमाडौँ कान्तिपथस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय (बहादुर भवन) मा पेश गर्नुपर्ने आयोगले जारी गरेको सूचनामा उल्लेख छ।
आयोगले दलहरूले निवेदन प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची–२ अनुसार तयार गर्नुपर्ने स्पष्ट पारेको छ। त्यस्तै, निवेदन पेश गर्दा दलको केन्द्रीय समितिको निर्णयअनुसार अधिकार प्राप्त पदाधिकारीको हस्ताक्षर अनिवार्य हुने आयोगले जनाएको छ।








