समाचार सुन्नुहोस :
काठमाडौँ – काठमाडौँको रत्नापार्क (शंखधर उद्यान) मा अब घाम ताप्दै निःशुल्क इन्टरनेट चलाउन सकिने भएको छ। पार्क व्यवस्थित बन्दै गएपछि महानगरपालिकाले नेपाल टेलिकमका ६ वटा राउटरमार्फत ५०० एमबिपिएस क्षमताको वाइफाइ जडान सुरू गरेको छ। मंसिरभित्रै पार्कका सबै क्षेत्रमा सेवा उपलब्ध हुने उद्यानका टेक्निसियन सुरेशकुमार श्रेष्ठले जानकारी दिए।
रत्नापार्कलाई करिब ८० लाख रुपैयाँ खर्चेर पुनर्निर्माणपछि यहाँ घुम्न आउने व्यक्तिहरूको संख्या बढेको छ। अहिले विद्यार्थीले २०, सर्वसाधारणले ३० र विदेशी पर्यटकले १०० रुपैयाँ तिरेर प्रवेश गर्न सक्छन्। क्यामेरा, सुटिङ तथा विभिन्न गतिविधिका लागि छुट्टाछुट्टै शुल्क लिइन्छ। पार्कले वार्षिक ५० लाखदेखि १ करोड रुपैयाँसम्म आम्दानी गर्छ।
यो वर्ष साउनदेखि कात्तिकसम्म ६१ हजारभन्दा बढीले पार्क भ्रमण गरेका छन्। ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र एकल महिलालाई निःशुल्क प्रवेश छ।








