समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर क्षेत्रमा अन्डरपास र फ्लाइओभर निर्माण गर्न ऋण सम्झौता भएको छ। अर्थमन्त्री रामेश्वर खनालको उपस्थितिमा अर्थ मन्त्रालयमा भएको कार्यक्रममा सम्झौता औपचारिक रूपमा सम्पन्न गरिएको हो।
जापानले परियोजनाका लागि ३४.५९ अर्ब जापानी येन (करिब ३१ अर्ब ७६ करोड रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउनेछ। जाइकामार्फत प्राप्त हुने यस ऋणको ग्रेस अवधि १० वर्ष, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर वार्षिक ०.२ प्रतिशत हुनेछ। यस अन्तर्गत कोटेश्वर र जडिबुटी खण्डमा अन्डरपास र फ्लाइओभर बनाइनेछ। परियोजना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागमार्फत कार्यान्वयन हुनेछ।
एक्सचेन्ज अफ नोट्समा अर्थ सचिव घनश्याम उपाध्याय र जापानी राजदूत मायदा तोरुले हस्ताक्षर गरे। ऋण सम्झौतामा सह–सचिव धनीराम शर्मा र जाइका नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी माजुकीले हस्ताक्षर गरे। सम्बोधनमा जाइकाका प्रतिनिधि, जापानी राजदूत र अर्थमन्त्रीले परियोजनाले उपत्यकाको ट्राफिक व्यवस्थापनमा उल्लेखनीय सुधार ल्याउने विश्वास व्यक्त गरे।








