समाचार सुन्नुहोस :
काठमाडौँ – मार्गशीर्ष शुक्ल पूर्णिमामा आज किराँत समुदायले पितृको सम्मान र प्रकृतिप्रतिको कृतज्ञताका रूपमा उधौली पर्व देशभर मनाइरहेका छन्। याक्खा समुदायले ‘चासुवा’, सुनुवारले ‘फोलस्यादर’, राईले ‘उधौली सकेला’ र लिम्बूहरूले ‘चासोक तङ्नाम’ नामले यो पर्व मनाए पनि यसको मूल सार उधौली नै हो। लिम्बूहरूले तीन दिनअघि नै चासोक तङ्नाम सुरू गरेका थिए।
किराँत समुदायले पाकेका अन्नबाली इष्टदेवतालाई चढाउने, अनुमति माग्ने र पितृ सम्झने दिनका रूपमा यो पर्व मनाउँछ। बाली लगाउने समयमा भने उभौली मनाउने परम्परा छ। आज बिहानैदेखि जातीय पोशाकमा सजिएका महिला–पुरुषहरू च्याब्रुङ बाजा र धाननाचसहित पूजा स्थल पुगेका छन्।
ललितपुरको सानो हात्तीवनलाई ऐतिहासिक तीर्थस्थल मानिने भएकाले त्यहाँ विशेष चहलपहल छ। पूजापछि चण्डीनाच, च्याब्रुङनाच, ढोलनाचलगायत सांस्कृतिक कार्यक्रम र खेलकुद आयोजना गरिन्छ। किराँतहरूको उभौली–उधौलीलाई वातावरणअनुकूल बस्ती सर्ने परम्परासँग पनि जोडिन्छ।
आज उधौली पर्व, धान्य पूर्णिमा र योमरी पूर्णिमासँगै परम्परागत रूपमा नयाँ अन्न देवतामा चढाएर खाने संस्कारसमेत मनाइँदैछ। यस अवसरमा आज देशभर सार्वजनिक बिदा दिइएको छ।








