काठमाडौं – नेपाली राजनीतिको रङ्गमञ्चमा यतिबेला ‘सेलिब्रिटी फेस’हरूको बाक्लो उपस्थिति देखिएको छ । निर्वाचनको चहलपहलसँगै नयाँ राजनीतिक दलहरूको उदय र जनमानसमा प्रभावशाली छवि बनाएका कलाकारहरूको बढ्दो संलग्नताले कला र राजनीतिबीचको सम्बन्धलाई नयाँ परिभाषा दिइरहेको छ । यो प्रवृत्तिले एकातिर राजनीतिमा नयाँ ऊर्जा र जनसम्पर्कको आयाम थपेको छ भने अर्कोतिर
कलाकारिताको मूल मर्ममाथि प्रश्नचिहृन खडा गरेको छ ।
विश्वव्यापी रूपमै कलाकारहरू मनोरञ्जनको क्षेत्रबाट राजनीतिक नेतृत्वमा पुगेका अनगिन्ती उदाहरणहरू छन् । भारतमा अमिताभ बच्चन, जयललिता, चिरञ्जीवी जस्ता दिग्गज कलाकारहरू राजनीतिमा सफल भएका छन् भने हलिउडमा रोनाल्ड रेगन, अर्नाल्ड श्वार्जनेगर जस्ता हस्तीहरूले पनि उच्च राजनीतिक पद सम्हालेका छन् । नेपालमा पनि यो क्रम लामो समयदेखि जारी छ ।
स्थापित कलाकारहरूलाई पार्टीले ‘पपुलर फेस’ का रूपमा प्रयोग गर्दै आएका छन्, जसले गर्दा निर्वाचनमा जनमत आकर्षित गर्न सहज हुने गरेको छ । चलचित्र विकास बोर्ड र साँस्कृतिक परिषद् जस्ता सरकारी निकायमा हुने राजनीतिक नियुक्तिहरूले पनि कलाकारहरूलाई राजनीतिमा आकर्षित गर्ने महत्वपूर्ण भूमिका खेलेको देखिन्छ । यो आकर्षणले कलाकारहरूलाई जनतासँग सीधा जोडिन र उनीहरूको आवाजलाई नीति निर्माणको तहसम्म पुर्याउन सहयोग पुगेको कतिपयको भनाइ छ ।
कलाकारलाई समाजका ‘स्पन्दन’ मानिन्छ, जसले जनभावना, आकांक्षा र समस्यालाई कलात्मक रूपमा प्रस्तुत गर्छन् । कला निष्पक्ष हुनुपर्छ, सत्य बोल्नुपर्छ, र आवश्यक परे सत्तालाई प्रश्न गर्न सक्नुपर्छ भन्ने मान्यताका बाबजुद नेपालमा कलाकारको कलात्मक योगदानभन्दा बढी उनीहरूको व्यक्तिगत जीवन, विवाद, प्रेम-सम्बन्ध, सामाजिक सञ्जालका गतिविधि र पार्टी निकटता चर्चामा आउने गरेको छ । यही निजी जीवनभित्र राजनीतिका धागाहरू पनि बुनेका हुन्छन् । कसैको पारिवारिक सम्बन्ध, कसैको व्यक्तिगत निकटता, कसैको पार्टी समर्थन ।***








