समाचार सुन्नुहोस :
काठमाडौँ – बुद्ध एयरको काठमाडौं–पोखरा उडान (फ्लाइट नम्बर ६१७) शनिबार पोखरा विमानस्थलमा अवतरणका क्रममा चरासँग ठोक्किएको छ। पोखरा कार्यालयका अनुसार विमानसँग ठोक्किएको चरा गिद्ध भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। अल्फा–ओस्कर–चार्ली कलसाइन भएको एटीआर–७२ विमान रनवे १२ बाट अवतरण गर्दै गर्दा गिद्धसँग ठोक्किँदा दायाँ इन्जिनको एक प्रोपेलर क्षतिग्रस्त भएको हो। विमानमा ६८ यात्रु थिए र सबै यात्रु तथा चालकदल सुरक्षित रहेको बुद्ध एयरले जनाएको छ।
विमानले काठमाडौं फर्कने क्रममा ७२ यात्रु ल्याउने तालिका थियो तर क्षति मूल्यांकन र मर्मतपछि मात्रै पुनः उडानयोग्य बन्नेछ। झन्डै एक महिनाअघि पनि पोखराबाट काठमाडौं उडान भरेको बुद्ध एयरको अर्को एटीआर विमान गिद्धसँगै ठोक्किएपछि धावनमार्गतिर फर्कनुपरेको थियो।
नेपालका विमानस्थलमध्ये पोखरा विमानस्थलमा चराको गतिविधि धेरै हुने भएकाले पाइलट र एयरलाइन्सले विशेष सतर्कता अपनाउनुपर्ने अधिकारीहरूले बताएका छन्। इजिप्सियन भल्चर (मौसमी आगन्तुक) प्रजातिका गिद्धहरू पोखरा क्षेत्रमा बारम्बार देखिने गरिन्छ।








