काठमाडौं – रसुवास्थित प्रसिद्ध तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्ने क्रममा बेपत्ता भएका दाजुभाइ मृत फेला परेका छन् ।
गोसाइँकुण्डमा स्नान गर्ने क्रममा आइतबार विराटनगर महानगरपालिका-३ ढाटका २६ वर्षीय सुजन ढकाल र बेलबारी नगरपालिका-११ का २८ वर्षीय मनोज न्यौपाने बेपत्ता भएका थिए । उनीहरू दाजुभाइ (मामा-फुपुका छोराहरू) रहेको खुलेको छ ।
सोमबार बिहान १० बजे मृत अवस्थामा उनीहरू फेला परेको प्रहरीले जनाएको छ। मृत भेटिएका दाजुभाइको शव काठमाडौं ल्याउने प्रयास भइरहेको मृतकका दाजु विवेक मिश्रले जानकारी दिए । उनका अनुसार मनोज काठमाडौं बस्दै आएका थिए । विराटनगरस्थित घरमा बस्दै आएका सुजन केही दिनअघि काठमाडौं गएका थिए ।
काठमाडौंबाट साथीभाइसँग उनीहरू १० साउनमा गोसाइँकुण्ड गएका थिए । आइतबार गोसाइँकुण्डमा स्थान गर्ने क्रममा दुवै बेपत्ता भएका थिए । एक जना चिप्लिएपछि अर्का उद्दार गर्न गएका थिए । उद्धार गर्न खोज्दा दुवै जना बेपत्ता भएका थिए ।








