टोकियो – गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्, जापानको २०२५-२०२७ कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न तोकिएको मतदानको समय सकिएको छ । निर्वाचन समितिले दिएको जानकारी अनुसार, मतदानको समय सकिँदासम्म कुल १२,३४५ मत खसेको हो ।
एनआरएनए जापानको नयाँ नेतृत्वका लागि जापानभरका सदस्यहरूले अनलाइन प्रणालीमार्फत स्थानीय समयअनुसार बिहान ९ बजेदेखि राति ८ बजेसम्म आफ्नो मताधिकार प्रयोग गरेका थिए । मतदान प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ ।
यस पटकको निर्वाचनमा अध्यक्ष पदका लागि वर्तमान कार्यसमितिका दुई उपाध्यक्ष, सुभाष लामिछाने र सिद्धार्थ श्रेष्ठबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । दुवै उम्मेदवारले आफ्ना एजेन्डासहित चुनावी अभियान चलाएकाले अध्यक्ष पदको नतिजालाई निकै चासोका साथ हेरिएको छ ।
त्यस्तै, वरिष्ठ उपाध्यक्ष पदमा टीका राम खरेल र कृष्ण गैरै शर्मा तथा महासचिव पदमा विश्वास गौतम (खगराज) र श्याम कुमार श्रेष्ठ (श्याम शितल) बीच प्रतिस्पर्धा छ । अन्य विभिन्न पदहरूमा पनि उल्लेख्य संख्यामा उम्मेदवारी परेको ।
मध्यरातमा अन्तिम परिणाम
प्रमुख निर्वाचन आयुक्त तिलक मल्ल, सदस्य-सचिव भूपिगोविन्द श्रेष्ठ र सदस्य केशर गिरी सम्मिलित निर्वाचन समितिले मतदान समाप्त भएलगत्तै रातिबाट नै मतगणना सुरु गरिने जानकारी दिएको छ । मतगणनालाई पारदर्शी बनाउन आवश्यक प्रबन्ध मिलाइएको र मध्यरातसम्ममा अन्तिम नतिजा सार्वजनिक गर्ने लक्ष्य राखिएको समितिले जनाएको छ ।








