समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले चितवनमा लोडसेडिङ सुरु भएको भन्ने कुरा सत्य नभएको स्पष्ट पारेका छन्। आइतबार काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले चितवनमा मर्मतका कारण अस्थायी रूपमा विद्युत् आपूर्ति बन्द गरिएको र यसलाई लोडसेडिङको रूपमा बुझ्नु गलत भएको बताए।
उनका अनुसार चितवनमा रहेको सव-स्टेशनको स्तरोन्नति कार्य अन्तर्गत पुरानो कन्डक्टर फेर्ने काम भइरहेकाले आइतबार र सोमबारका लागि विद्युत् आपूर्ति रोकिएको हो।शाक्यले पुरानो कन्डक्टरले अबको लोड धान्न नसक्ने भएपछि नयाँ कन्डक्टर राख्ने काम थालिएको बताए। विद्युत् क्षमतामा वृद्धि गर्दा पुरानो नेटवर्कले साथ नदिँदा बत्ती जाने समस्या देखिएको उनको भनाइ छ।
त्यस्तै उनले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता विवाद समाधान गर्न गठित प्रशासकीय पुनरवलोकन समितिको कार्यकाल ३५ दिन थपिएको जानकारी दिए। शाक्यका अनुसार समितिको निर्णयपछि बक्यौता असुली प्रक्रिया अघि बढाइनेछ। बक्यौता तिर्न नसक्ने उपभोक्ताको लाइन काटिने उनले स्पष्ट पारे।








