टोकियो – जापानको राजधानी टोकियोको व्यस्त इकेबुकुरो क्षेत्रमा रहेको एक सुशी रेस्टुरेन्टमा कार्यरत ३२ वर्षीय युवकको शुक्रबार चक्कु प्रहार गरी हत्या गरिएको छ । प्रहरीका अनुसार हत्याको आरोपमा उनकै सहकर्मीलाई पक्राउ गरिएको छ ।
प्रहरीले ५६ वर्षीय मासाहितो इशिओकालाई ३२ वर्षीय तोमोयुकी इवाताको हत्याको आशंकामा पक्राउ गरेको हो । घटना रेस्टुरेन्ट खुल्नुअघि शुक्रबार दिउँसो करिब ४:३० बजेतिर घटेको थियो । पक्राउ परेका इशिओकाले व्यक्तिगत समस्याका कारण हत्या गरेको स्वीकार गरेका छन् ।
प्रहरीका अनुसार, संदिग्ध इशिओकाले पीडितप्रति आफ्नो रिस ‘विस्फोट’ भएपछि भान्सामा प्रयोग हुने चक्कुले प्रहार गरेको बयान दिएका छन् । उनले इवाताको छाती र पेट लगायत शरीरका विभिन्न भागमा चक्कु प्रहार गरेका थिए ।
उक्त रेस्टुरेन्ट जेआर इकेबुकुरो स्टेसनबाट करिब २०० मिटर टाढा रहेको एक भवनको दोस्रो तलामा अवस्थित छ । घटनालगत्तै इशिओकाले नजिकैको प्रहरी चौकीमा रगत लागेको मास्कसहित आत्मसमर्पण गरेका थिए । प्रहरी घटनास्थलमा पुग्दा इवाता प्रवेशद्वार नजिकै रगतको आहालमा लडिरहेका थिए र नजिकै रगतले लतपतिएको चक्कु पनि फेला परेको थियो ।
अस्पताल पुर्याइए पनि इवातालाई मृत घोषित गरिएको थियो । घटना हुँदा रेस्टुरेन्ट खुल्ने तयारीमा थियो र त्यहाँ अन्य कर्मचारीहरू पनि उपस्थित रहेको विश्वास गरिएको छ ।








