समाचार सुन्नुहोस :
काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले १० वर्षअघि राष्ट्रपति बन्दा एमालेको पार्टी सदस्यता त्यागेको भन्ने दाबी गलत भएको बताएकी छन्। एमालेले राखेको यो दाबी झुटो हो भन्दै उनले त्यसको खण्डन गरेकी हुन्। शुक्रबार पत्रकार सम्मेलन गर्दै भण्डारीले भनिन्, “मेरो पार्टी सदस्यता कसैले खारेज गर्न सक्दैन।”
उनले आफूले राष्ट्रपतिको कार्यकाल सफलतापूर्वक पूरा गरेपछि बाँकी जीवन कुनै संगठनमा लागेर बिताउने सोच बनाएकाले ४५ वर्षअघिदेखि आबद्ध एमालेको सदस्यता नवीकरण गरेको जानकारी दिइन्।
भण्डारीले थप भनिन्, “हुलहुज्जत र उत्तेजनामा आएर मेरो सदस्यता खारेज गर्न मिल्दैन। पार्टी प्रणाली अनुसार चल्नुपर्छ। कसैले के गर्न चाहन्छ, त्यो अलग कुरा हो।” उनको भनाइ अनुसार, पार्टीमा निर्णय प्रक्रियाको पालना आवश्यक हुन्छ, र व्यक्तिगत इच्छा अनुसार सदस्यता खारेज गर्नु मिल्दैन।








