समाचार सुन्नुहोस :
काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज पत्रकार सम्मेलन आयोजना गर्दैछिन्। उनले बबरमहलस्थित कार्की बैंक्वेटमा दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्ने तयारी गरेकी हुन्।
भण्डारी निकट एक नेताका अनुसार, एमालेले पार्टी राजनीतिमा सक्रिय हुन नदिने निर्णयसहित उनको पार्टी सदस्यता खारेज गरेपछि, भण्डारीले त्यस विषयमा सार्वजनिक धारणा राख्नेछिन्। साउन ५ र ६ गते बसेको एमाले केन्द्रीय कमिटी बैठकले उनलाई राजनीतिक गतिविधिमा सहभागी हुन नदिने निर्णय गरेको थियो। एमालेले राष्ट्रपतिसम्मको पद सम्हालेको व्यक्तिले पुनः राजनीतिमा फर्कनु संविधानको मर्म विपरीत हुने तर्क गरेको छ।
तर भण्डारीले आफूलाई राजनीतिक अधिकार प्राप्त भएको भन्दै एमालेको निर्णयको प्रतिवाद गर्ने तयारी गरेकी छन्। यसका लागि उनले देशभर राजनीतिक अभियान सञ्चालन गर्ने योजना बनाएकी छन्।








