
काठमाडौं – पाकिस्तानको निर्वाचन आयोगले त्यहाँका पूर्व प्रधानमन्त्री इमरान खानलाई ५ वर्षसम्म चुनाव लड्न अयोग्य घोषित गरेको छ । सत्तामा रहँदा लिएका उपहारका बारेमा गलत जानकारी दिएको भन्दै आयोगको ५ सदस्यीय बेञ्चले उनलाई चुनाव लड्न अयोग्य घोषित गरेको हो ।
इमरानले प्रधानमन्त्री हुँदा उपहार लिएको तर उनले निर्वाचन आयोगमा बुझाएको सम्पत्ति विवरणमा त्यसलाई समावेश नगरेको आरोप रांझाले लगाएका थिए । त्यही मुद्दामा सुनुवाइ गर्दै प्रमुख निर्वाचन आयुक्त सिकन्दर सुल्तान राजा नेतृत्वको बेञ्चले इमरानले ५ वर्ष चुनाव लड्न नपाउने फैसला गरेको हो ।
आयोगले गरेको फैसला अनुसार गलत बयान दिएको आरोपमा इमरानमाथि कारबाही सुरु हुने छ । पूर्व क्रिकेट कप्तानसमेत रहेका इमरान क्रिकेटबाट सन्यास लिएपछि राजनीतिमा लागेका थिए । पाकिस्तान तहरिक ए इन्साफका अध्यक्ष रहेका उनी अगस्ट २०१८ देखि अप्रिल २०२२ सम्म पाकिस्तानको प्रधानमन्त्री बनेका थिए । एक हप्ताअघि भएको उपचुनावमा उनी ७ ठाउँबाट संघीय संसदको उम्मेदवार बनेकोमा ६ क्षेत्रमा निर्वाचित भएका थिए ।








