झापा – आगोले जलेर शिवसताक्षी नगरपालिका–७, लालझोडामा आइतबार राति परिवारका चारैजनाको मृत्यु भयो । घटनापछि स्थानीयबासी नगरपालिकाप्रति आक्रोशित देखिए ।
उनीहरुले ‘मेयर ७० लाखको गाडी चढ्ने तर एउटा दमकल किन्न नसक्ने’ भन्दै सार्वजनिक आलोचना गरे । मेयर चन्द्रकुमार शेर्मा यही वर्ष किनेको ७० लाखको ईसुजु डिम्याक्समा हुइँकिनुहुन्छ । उपमेयर भोजकुमारी नेपाल टाटासुमो चढ्नुहुन्छ ।
लालझोडाका मुक्तिनाथ दाहालले दमकल नभएकै कारण लक्ष्मण खनालको परिवारलाई बचाउन नसकिएको बताउनुभयो । आगलागी भएको ३५ मिनेटपछि मात्रै दमकल घटनास्थल पुगेको थियो ।
शिवसताक्षीमा आगलागि भए बिर्तामोड र दमकबाट दमकल बोलाउनुपर्ने बाध्यता छ । लालझोडामा आगो लाग्दा दमक नगरपालिकाको दमकल बोलाइएको थियो ।








