काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभाअन्तर्गतको संसदीय दलको कार्यालय एउटै बनाउने तयारी थालेको छ ।
तत्कालीन नेकपा एमालेको संसदीय दल रहेकै भवनमा प्रमुख सचेतकको कार्यालय बनाइँदै छ । ‘अब केही दिनमै उहाँ (प्रमुख सचेतक) पनि यही कार्यालयमा आउनुहुन्छ’, नेकपाका सचेतक शान्ता चौधरीले भन्नुभयो– ‘तयारी भइरहेको छ, कोठा व्यवस्थापन गरिरहेका छौं ।’
अहिलेसम्म प्रमुख सचेतक देवप्रसाद गुरुङ नेकपा (माओवादी केन्द्र) को संसदीय दल रहेको पुरानै भवनमा बस्दै आउनुभएको छ । दुई पार्टी मिलेर नेकपा भए पनि प्रमुख सचेतक र सचेतकको कार्यालय अलग–अलग हुँदा नेता, कार्यकर्ता तथा भेट गर्न आउने समेत अलमलमा पर्दै आएका छन् ।
२०७४ असोज १७ गते एमाले र माओवादी केन्द्र एकतासम्म पुग्ने गरी एकताको बाटोमा अघि बढेका थिए । दशैं मनाइरहेका बेला काठमाडौंको राष्ट्रियसभा गृहमा अचानक भएको एकताको घोषणाअघि दुवै पार्टीको कुनै पनि समितिको बैठक बसेर औपचारिक निर्णय गरेको थिएन ।
हतारमा एकताको घोषणा गरिँदा यस्तो महान् अवसरमा पनि कुनै ब्यानर टाँगिएको थिएन । संविधानसभाको दोस्रो निर्वाचनपछि बनेको संबिधानसभामा एमाले र माओबादीबीच भनाभन र एक अर्कामा आरोप–प्रत्यारोपले यो अवस्था आउला भन्ने पनि लाग्दैनथ्यो ।
एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभाको संसदीय दलको नेता चयन हुनुभएको छ, उहाँ प्रधानमन्त्री पनि हुनुहुन्छ । निर्वाचनमा एमाले र माओवादीले भागवण्डा गरेर उम्मेदवार उठाएका थिए ।








