काठमाडाैं – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयलाई सम्पत्ति विवरण पेस गर्दा लेखेका थिए-सवारी साधनको नाममा पुरानो साइकलमात्र ।
त्यतिबेला सादगी नेता भनेर उनको प्रशंसा भयो । यतिबेला तिनै मन्त्रीको निवासदेखि सचिवालयसम्म गाडीको लस्कर छ । मन्त्री नहुँदा सार्वजनिक बस, टेम्पो तथा साइकल प्रयोग गरेका उनै पण्डितले पत्नीदेखि स्वकीय, निजी सचिव र कार्यकर्तासम्मलाई सरकारी गाडी उपलव्ध गराएका छन् ।
उनको घरायसी काममा समेत सरकारी गाडी, इन्धन र चालक छन् । उनी मन्त्रालयले उपलव्ध गराएको फोर्डको सुविधायुक्त गाडीमा हुँइकिन्छन्, जसको चालक रमेश लम्साल छन् । यसबाहेक उनलाई गृह मन्त्रालयले बा २ झ १०७५ नम्बरको कार पनि दिएको छ ।
उनकी पत्नी विमला महतका लागि मन्त्रालयकै नाममा रहेको बा १ झ ९८४७ नम्बरको गाडी तानेका छन् । मन्त्री पण्डितले आफूले प्रयोग गर्ने दुईटासहित थप दुई गाडी प्रयोग गरेको स्वीकार गरे ।








