काठमाडौं – संग्रहालय स्थापना भएको एक दशक पछि नारायणहिटी संग्रहालयले प्रवेश शुल्क बढाउने तयारी गरेको छ ।
पुरातत्व विभाग मातहतमा रहेको संग्रहालयले शुल्क बढाउने प्रस्ताव संस्कृति पर्यटन तथा मन्त्रालयमा पेश गरेको छ । करिब तीन साता अघि बसेको बैठकले शुल्क बढाउने प्रस्ताव गरेको हो । सो प्रस्ताव पुरातत्व विभाग हुदै संस्कृति,पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा पेश भएको छ ।
प्रस्तावित नया शुल्कमा नेपाली विद्यार्थीलाई ४०, सार्क राष्ट्रका पर्यटकका लागि ३ सय, तेस्रो मुलकका पर्यटकका लागि ७ सय ५० र नेपाली पर्यटकका लागि १ सय ५० रुपिया प्रस्ताव गरिएको छ ।
विभागको मातहतमा गए लगत्तै संग्रहालयले नया शुल्कको प्रस्ताव गरेको हो । हाल विद्यार्थीका लागि २०, सार्कका पर्यटकका लागि २ सय ५०, तेस्रो मुलुकका पर्यटकका लागि ५ सय र नेपालीका लागि १ सय रुपिया उठाउदै आएको थियो । संग्रहालयले श्रीपेच खुला गरेपछि शुल्क बढाउने तयारी गरेको थियो । अब श्रीसदन पनि खुला गर्ने तयारी गरेका छौ, एक दशकसम्म रकम नबढेको रकम बढाउने प्रस्ताव तयार गरेका हौ–पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले भन्नुभयो ।
उहाका अनुसार संग्रहालयको गुरुयोजना अनुसार अन्य कक्ष समेत खुला गर्ने तयारी भएकोले शुल्क बढाउने प्रस्ताव गरिएको हो । नारायणहिटीमा ५२ कक्ष छन् । अब तत्कालै केही कक्ष खुला गर्नेछौ–महानिर्देशक दाहालले भन्नुभयो ।
तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको कार्यकालमा बिसं २०६५ असार १ गते नारायणहिटी राजदरबारलाई संग्रहालय बनाउने निर्णय भएको थियो ।








