काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको पाँच महिना पूरा हुँदा पनि पार्टीको एकता प्रक्रियाले पूर्णता पाउन सकेको छैन ।
नेकपा को सचिवालय बैठक फाट्टफुट्ट बसे पनि स्थायी कमिटी बैठक तीन महिना यता बस्न नसक्दा पनि पार्टी एकता प्रक्रियाले पूर्णता पाउन नसकेको हो । जनवर्गी सङ्गठनहरूको एकता तथा नेताहरू जिम्मवारीले पार्टी एकताले पूर्णाता पाउने कतिपय नेताहरू भनाइ छ
कार्य दलले गृहकार्य पूरा नहुँदा सोमबार र मङ्गलबार बस्ने भनिएको स्थायी कमिटीको बैठक पनि बस्न सकेन । स्थायी कमिटी सदस्य तथा प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेल प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अस्वस्थता र कार्यदलको तयारीको अभावमा स्थायी कमिटीको यो बैठक स्थगित भएको जानकारी दिनुभयो ।
स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओली सोमबार अस्पताल भर्ना हुनुभएको छ । नेकपा नेतृत्वकै करिब दुइतिहाई बहुमतको सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसकेको कतिपय गुनासोलाई नेताहरूले स्थायी कमिटीको बैठकसँग जोडेर हेर्न थालेका छन् ।
स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे समयमा स्थानीय कमिटीको बैठक बस्न नसक्दा समस्या समाधान गर्न कठिन भएको बताउनुहुन्छ । कात्तिक ४ र ५ गते सचिवालय बैठक बसेको थियो । पछिल्लो बैठक ८ गते बसेर प्रदेश सदस्यहरुको टुङ्गो र जिम्मेवारीको गृहकार्य गर्न पार्टी महासचिव विष्णुप्रसाद पौडेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ रहेको दुई सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलले त्यसको गृहकाय गरिरहेको छ ।
सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसक्नुको पछाडि पार्टीभित्र गम्भीर छलफल हुन नसक्नु र सरकारले रचनात्मक सुझाव पाउन नसक्नु हो भन्ने तर्क नेताहरुको देखिएको छ । सरकारको कामकाज प्रभावकारी बनाउन पनि सघन बैठकको खाँचो नेताहरुले औँल्याउनुभएको छ ।








