Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले काठमाडौंमा मूल्यवृद्धि विरुद्ध विरोध सभा गरेको छ । तरुण दलले उपत्यकाका र आसपासका जिल्लाका तरुण कार्यकर्तालाई राजधानी बोलाएर बुधबार दिउँसो काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा विरोध सभा गरेको हो ।

पेट्रोलिम पदार्थमा मूल्यवृद्धि, महँगी, प्रेसमाथिको हस्तक्षेप, अदालतको अपमान र भ्रष्टाचारको विरोधमा उपत्यका र आसपासका जिल्लाका तरुण कार्यकर्ताको उपस्थितिमा विरोध सभा आयोजना गरिएको महासचिव भुपेन्द्रजंग शाहीले जानकारी दिनुभयो । तरुण दलको विरोध सभामा बोल्ने वक्ताहरुले सरकारले दुई तिहाईको आडमा ज्यादति गरे तरुण दल शशक्त भएर आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाईको बलमा जनविरोधी काम गर्दै गए तरुण दल सिंहदरवारबाट तानेर टुँडिखेलमा ल्याउन तयार र सक्षम रहेको दावीसमेत गरे ।

‘सरकार संविधान विरोधी काम गर्न थालेकाले तरुण दल सडकमा आएको हो,’ विरोध सभालाई सम्बोधन गर्दै तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले भन्नुभयो, ‘देश बनाउने नाममा ओली नेतृत्वको सरकारले जनताले दिएको म्याण्डेडको अपमान गर्दै जनविरोधी कामहरु गरिरहेको छ । जनताका अधिकार खोसिन नदिन तरुण दल आफ्नो जिम्मेवारीबाट कदापी पछि हट्दैन ।’ उहाँले निरंकुश राणा शासन, पञ्चायती व्यवस्था र राजसंस्था हटाउन नेपाली कांग्रेसले खेलेको भूमिका स्मरण गर्दै अव पूर्णलोकतन्त्रका लागि अन्तिम लडाई लड्न तरुण दल तयार रहेको बताउनुभयो ।

तरुण दल केन्द्रीय कार्यसमितिको आयोजनामा सम्पन्न विरोध सभामा काठमाडौं, ललितपुर, भक्तपुरसँगै रामेछाप, सिन्धुपाल्चोक, रसुवा, सोलुखुम्बुका तरुण दलका जिल्ला कार्यसमितिहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया