काठमाडाैं – नेपाल वायु सेवा निगमले २८० सिट क्षमताको एयर बस कम्पनीको वाइड बडी ए ३३० जहाज बिहीबार काठमाडौँ ल्याइपुर्याउने भएको छ । ३३०-२०० सिरिजको वाइड बडी जहाज लिनका लागि नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसकारसहितको तीन सदस्यीय टोली मंगलबार युरोपतर्फ लागेको छ ।
कंसकारसहित एकजना इन्जिनिय र अर्का कानुन विज्ञ अाज फ्रान्सका लागि उडेका हुन् । यो वाइड बडी नेपालको आफ्नै सबैभन्दा ठुलो जहाज हुनेछ । जहाज ल्याउने प्रक्रियाका लागि यसअघि नै नागरिक उड्ययन प्राधिकरणका तीनजना प्राविधिक फ्रान्सको टुसुल सहरस्थित एयरबस कम्पनीमा पुगिसकेका छन् । यो जहाजलाई बिहीबार बिहान ८ बजेर २० मा काठमाडौँस्थित त्रिभुवन विमानस्थलमा अवतरण गराउने तालिका बनाइएको छ ।
यो वाइड बडी जहाजमा ८ वटा बिजनेस क्लास र २७२ इकोनोमी क्लास सिट रहेका छन् । पहिलो वाइड बडी ल्याएको एक महिनापछि अर्को वाइड बडी पनि काठमाडौँ आइपुग्ने नेपाल वायु सेवा निगमले जानकारी दिएको छ । बिहीबार काठमाडौँमा अवतरण भएको एक महिनापछि यो जहाजले दुबईमा पहिलो व्यवसायिक उडान थाल्नेछ । नेपाल वायु सेवा निगमले यी दुई वाइड बडी जहाज किन्नका लागि करिब २२ अर्ब रुपैयाँ खर्च गरेको छ ।








