काठमाडौं – संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आवद्ध ६ वटा दल मिलेर गत वर्ष गठन भएको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको सबभन्दा शक्तिशाली अंग अध्यक्ष मण्डल भंग गर्नका लागि दवाव बढेको छ । ६ वटै पार्टीका अध्यक्ष सम्मिलित अध्यक्ष मण्डलले एकलौटी ढंगले काम गरेको आरोप लगाउँदै राजनीतिक समितिका सदस्यहरुले अध्यक्ष मण्डल विघटनको माग गरेका हुन् ।
अध्यक्ष मण्डलको कामकारवाहीप्रति अधिकांश नेता तथा कार्यकर्ता रुष्ट छन् । राजपाको राजनीतिक समितिको बैठकमा बोल्ने अधिकांश नेताहरुले अध्यक्ष मण्डल विघटन गरी महाधिवेशनको मिति तोक्ने माग गरेका छन् । बैठकमा सहअध्यक्ष लक्ष्मण लाल कर्णले नै अध्यक्ष मण्डलको ुमोनोपोलीुमाथि प्रश्न उठाए । निर्वाचन आयोगको पत्रका विषयमा पनि कर्णले चर्चा गरेका थिए ।
यसैगरी अर्का उपाध्यक्ष बृषेश चन्द्र लालले पनि अध्यक्ष मण्डल तानाशाही भएको आरोप लगाए । उनले पार्टी लथालिंग रहेको र अध्यक्ष मण्डल आफैमा व्यस्त रहेको बताएका थिए । अर्का उपाध्यक्ष नरसिंह चौधरीले पनि पार्टी अध्यक्ष मण्डलको घेरामा परेकोमा आक्रोश व्यक्त गरे । आफुहरु कसैको बन्धनमा बाँधिएको जस्तो महसुस भइरहेको सुनाएका थिए उनले । पार्टी संगठन निर्माणमा कसैको ध्यान नगएको उनको आरोप थियो ।
बैठकमा सहभागी एक महासचिवका अनुसार मंगलबार साँझसम्म अधिकांश राजनीतिक समिति सदस्यहरुले बोलेका छन् । जसमध्ये अधिकांशले अध्यक्ष मण्डलको आलोचना गर्दै विघटनको माग गरेका छन् ।








