Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं– सरकारले नेपालबाट कामदार आपूर्ति गर्दै आएका ४ देशका ६४ वटा रोजगारदाता कम्पनीलाई कालोसूचीमा राखेको छ। मलेसिया, साउदी अरब, कतार र युएईका ६४ कम्पनीलाई कालोसूचीमा राखिएको हो।

नेपालबाट रोजगारीका लागि यी देश पुगेका नेपाली युवालाई दुःख दिने, समस्यामा पार्ने, अलपत्र बनाउने र सम्झौता अनुसारको तलब–सुविधा नदिने रोजगारदाता कम्पनीलाई कालोसूचीमा राखिएको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ। रोजगारीका क्रममा समस्यामा परेका पीडित कामदारले विभागमा गरेको उजुरीका आधारमा रोजगार गन्तव्य देशका ६४ वटा रोजगारदाता कम्पनीलाई कालो सूचीमा राखिएको विभागले जनाएको छ।

विभागका अनुसार कालोसूचीमा राखिएका रोजगारदाता कम्पनीमा नेपाली कामदार पठाउन बन्द गरिएको छ भने, कालो सूचीमा परेका रोजगारदाता कम्पनीमा स्वचालित श्रम स्वीकृति जारी नहुने प्रक्रिया तय गरिएको छ। कालोसूचीमा परेका कम्पनीबाट रोजगार व्यवसायीले कामदारको माग ल्याएपनि श्रम स्वीकृतिमा प्रतिबन्ध लगाइएको विभागले स्पष्ट पारेको छ।

वैदेशिक रोजगारीमा गएका कामदार समस्यामा परेपछि विभागमा उजुरी गरेका आधारमा ४ देशका ६४ वटा रोजगारदाता कम्पनीलाई कालोसूचीमा राखिएको वैदेशिक रोजगार विभागका प्रवक्ता उद्धवराज रिजालले जानकारी दिनुभयो। विभागले कालोसूचीमा राखेका कम्पनीमा कुनैपनि रोजगार व्यवसायीले कामदार पठाएको पाइएमा कडा कानुनी कारबाही गरिने प्रवक्ता रिजालको भनाइ छ।

विदेशमा कार्यरत कामदारलाई समस्यामा पार्ने अन्य रोजगारदाता कम्पनीहरुको पनि अनुसन्धान भइरहेको प्रवक्ता रिजालले जानकारी दिनुभयो। अब सरकारले कामदार झुक्याउने, रोजगारीका नाममा कामदारलाई दुःख दिने र कामदार ठग्ने गिरोहलाई नछाड्ने उहाँले स्पष्ट पार्नुभयो।

सबैभन्दा धेरै मलेसियाका रोजगारदाता कम्पनी कालोसूचीमा परेका छन्। मलेसियापछि साउदी अरब, कतार र युएईका रोजगारदाता कम्पनी कालोसूचीमा परेका छन्। मलेसियाका ५२, युएईका ४, साउदीका ५ र कतारका ३ गरि ६४ वटा विदेशी रोजगारदाता कम्पनीलाई कालोसूचीमा राखिएको विभागले जनाएको छ। सरकारले धेरै फर्निचर कम्पनी, निर्माण कम्पनी, सप्लाई कम्पनी र मझौला कम्पनीलाई कालोसूचीमा राखेको छ।

नेपालबाट रोजगारीमा गएका धेरै कामदारलाई रोजगारदाता कम्पनीले नै समस्यामा पार्ने गरेका छन्। कम्पनीले नेपालबाट कामदार आपूर्ति गर्दा एउटा सम्झौता गर्ने र विदेश पुगेपछि अर्के काम तथा सेवा–सुविधा दिने गर्छन्। भनेजस्तो काम र सेवा–सुविधा नपाएपछि रोजगारीमा गएका नेपाली युवा भागेर काम गर्न बाध्य हुन्छन्। पछिल्लो समय वैदेशिक रोजगारीमा मलेसिया र साउदी पुगेका धेरै युवा समस्यामा तथा अलपत्र पर्ने क्रम बढ्दै गएको छ।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको तथ्यांक अनुसार वैदेशिक रोजगारीमा गएका वार्षिक २ हजारभन्दा बढी नेपाली कामदार समस्यामा पर्ने गरेका छन्।

कालोसूचीमा परेका विदेशका रोजगारदाता कम्पनीहरुको नामावली:

तपाईको प्रतिक्रिया