काठमाडौं – संघीय सरकारले आज पाँचथरबाट राष्ट्रिय परिचय–पत्रका लागि विवरण संकलन शुरु गर्दैछ । गृह मन्त्रालय मातहतको राष्ट्रिय परिचय पत्र वितरण व्यवस्थापन केन्द्र मार्फत विवरण संकलन गर्न लागिएको हो ।
सरकारले आर्थिक वर्ष २०६६–०६७ को नीति तथा कार्यक्रम मार्फत राष्ट्रिय परिचयपत्र वितरणको अवधारणा अगाडी वढाएको थियो । सोहि अनुसार पाँचथरका १ लाख १० हजार नागरिक र सिंहदरवारमा कार्यरत ७ हजार कर्मचारी गरी १ लाख ७ हजारलाई पहिलो चरणमा पाइलटिङका रुपमा राष्ट्रिय परिचय पत्र वितरण गर्ने निर्णय गरे अनुसार काम थालिएको राष्ट्रिय परिचय पत्र वितरण व्यवस्थापन केन्द्रका निर्देशक शिवराज जोशीले जानकारी दिनुभयो ।
निर्देशक जोशी नेतृत्वको टोलीले सदरमुकाम फिदिम स्थित जिल्ला प्रशासान कार्यालयमा खडा गरेको स्थायी मुकाममा फिदिम ४ निवासी १ सय ३ वर्षीय भगवतीदेवि भण्डारीको विवरण लिँदै संकलन कार्यको उद्घाटन गर्ने कार्य तालिका सार्वजनिक गरेको छ ।
भण्डारी जिल्लाकै ज्येष्ठ नागरिक हुन । जोशीका अनुसार विवरण संकलनका लागि जिल्ला प्रशासन कार्यालयमा स्थायी विवरण संकलन केन्द्र रहने छ भने ४ वटा टोलिमा विभाजन हुने कर्मचारी घुम्ती शिविर संञ्चालन गर्दै गाउँमा पठाइएने छ ।
चिप सहितको स्मार्ट कार्डमा प्रिन्ट हुने राष्ट्रिय परिचय पत्रमा बाहकका दश औठाछाप अंकित व्यक्तिको पहिचान सहितको विवरण समेटिने छन् ।








