काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणबारे प्रतिनिधिसभामा जानकारी गराउनु भएको छ । प्रधानमन्त्री ओली भोलिदेखि चीन भ्रमणमा जान लाग्नु भएको छ ।
प्रधानमन्त्रीले चीनले हाम्रो सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताको सम्मान गरेको र ऊ कमजोर भएको बेलामा पनि हामीलाई धेरै क्षेत्रमा सहयोग गरेको भन्दै प्रशंसा गर्नुभयो । आफ्नै प्रयासबाट मात्रै सम्भव नभएकाले छिमेकीहरुको सहयोगबाट विकास र समृद्धिको बाटोमा देशलाई लैजानुपर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो । ‘भूकम्पपछि तातोपानी नाका चलिरहेको छैन । विभिन्न बाटाहरुको बारेमा हामीले चीनसँग कुरा गरेका छौं । थप केही बाटोहरु, थप करिडोरहरुमा समझदारी हुने सम्भावना छु’ प्रधानमन्त्रीले भन्नुभयो ।
‘म यो गरिमामय सदनलाई विश्वास दिलाउन चाहन्छु, मेरो भ्रमणको अवसरमा दुई पक्षबीच गरिने सबै सम्झौता, समझदारी र छलफलहरु जे हुन्छन्, ती सबै मुलुकको बृहत्तर हित र राष्ट्रिय स्वाभिमानलाई केन्द्रबिन्दुमा राखेर नेपालको आवश्यकता र प्राथमिकतालाई ध्यानमा राखेर गरिनेछु’ ओलीले भन्नुभयो । चीन विरुद्धका कुनै पनि गतिविधि नेपाली भूमिका गर्न नदिने मिेत प्रधानमन्त्रीको भनाई छ ।








