काठमाडौं – द्वन्द्वकालीन मुद्धामा सर्वस्वसहित जन्मकैदको सजाय भुक्तान गरिरहेका बालकृष्ण ढुंगेलको कैद मिनाह नगर्न माग गर्दै अधिकारकर्मी तथा द्वन्द्वपीडितहरुले प्रधानमन्त्री निवास बालुवाटारमा प्रर्दशन गरेका छन् । गणतन्त्र दिवसको दिन पारेर ढुंंगेललाई आममाफी दिने तयारी सरकारले गरिरहेको चर्चा भईरहेका बेला खबरदारी गर्दै विरोध प्रर्दशन गरेका हुन ।
सरकारले गणतन्त्र दिवसको अवसर पारेर ८४० कैदीको बाँकी कैद मिनाह गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ । कैद मिनाह पाउने यो सूचीमा ढंगेल पनि रहेको भन्दै द्वन्द्वपीडितहरुले विरोध गर्दै आएका छन् । ढुंगेललाई सरकारले आम माफी दिए न्यायको खोजीमा अन्तराष्ट्रिय अदालत जान आफूहरु बाध्य हुने द्वन्द्वपीडित सावित्री श्रेष्ठले बताउनुभयाे ।
द्वन्द्वकालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या गरेको प्रमाणको आधारमा ढुंगेल सर्वोच्च अदालतको आदेश अनुसार सर्वस्वसहित जन्मकैदको सजाय भुक्तान गरिरहेका छन । हत्या गरिएका उज्जनकी दिदी समेत रहेकी सावित्रीले सरकार सर्वोच्चको आदेश विपरित जान खोजेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।








