काठमाडौं – सर्वस्वसहित जन्मकैदको सजाय पाएका नेता तत्कालीन माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेलको बाँकी कैद माफी सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ । ढुंगेलसहित करिब ८ सय ५० कैदीको कैद माफी सम्बन्धी प्रस्ताव गृह मन्त्रालयले मन्त्रिपरिषद्मा पठाएको हो ।
मन्त्रिपरिषद् बैठक अहिले केहिबेरमा बस्दै छ । बैठकमा गणतन्त्र दिवशको अवसरमा कैदीलाई दिने कैद माफी मिनाहा प्रस्ताव गृहले लैजान सक्ने सम्भावना छ । आगामी मंगलबार गणतन्त्र दिवस मनाइँदै छ । सरकारले यसपटक आठ सयभन्दा बढी कैदीलाई कैद माफी मिनाहा गर्ने तयारीमा छ । सरकारले हरेक वर्ष दशैं र गणतन्त्र दिवशमा कैदीलाई माफी मिनाहा गर्ने गर्दछ । ४० प्रतिशत कैद सजाय काटेका र असल चालचलन भएका कैदीहरुले मात्र माफी मिनाहा पाउने कानुनी ब्यवस्था छ ।
विभिन्न २३ वटा कसुरमा भने माफी मिनाहाको ब्यवस्था छैन । सरकारले यसपटक पूर्वसांसद बालकृष्ण ढुंगेललाई पनि कैद माफी मिनाहा गर्ने तयारी गरेको छ । कर्तव्य ज्यान मुद्धामा जन्मकैदको सजाय पाएका ढुंगेल ६ महिना अघिमात्र पक्राउ परेका थिए । सर्बोच्च अदालतले २०६६ सालमा फैसला सुनाउनुअघि ढुंगेल करिब सात वर्ष सोही कसुरमा जेल बसिसकेका थिए । ढुंगेललाई कैद माफी गराउने सरकारको तयारीको सर्वत्र विरोध भईरहेको छ। सरकारले गरेको निर्णय राष्ट्रपतिले स्वीकृत गरेपछि मात्र कैद माफी मिनाहा कार्यान्वयन हुने छ । ***








