काठमाडौं – द्वन्द्वकालीन हत्याको अभियोगमा सर्वस्वसहित जन्मकैदको सजाय भुक्तान गरिरहेका बालकृष्ण ढुंगेललाई आममाफी दिन नपाइने दाबीसहित काठमाडौंमा विरोध प्रदर्शन भएको छ । हत्याको अभियोग लागेका ढुंगेलजस्ता अपराधीलाई राजनीतिक आवरणको आडमा आममाफी दिन सरकार लागि परेको भन्दै द्वन्द्वपीडितहरूले विरोध प्रर्दशन गरेका हुन् ।
काठमाडौंको माइतीघर मण्डलामा आज बिहान भेला भएका उनीहरूले मुलुककै कानून र अन्तर्राराष्ट्रिय कानूनको समेत धज्जी उडाउँदै सरकारले बालकृष्ण ढुंगेलजस्ता अपराधीलाई आममाफी दिन लागेको भन्दै आपत्ति जनाएका छन् । द्वन्द्वकालका हत्यारा ढुंगेललाई आममाफी नदिन माग गर्दै सरकारविरुद्ध प्रदर्शन गर्न बाध्य हुनु परेको द्वन्द्वपीडित सावित्री श्रेष्ठले जानकारी दिनुभयो । उहाँले हत्यारालाई उन्मुक्त दिने काम कुनै पनि हिसाबले सैह्य नहुने चेतावनी पनि दिनुभयो ।
ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा संलग्न रहेको प्रमाणको आधारमा सर्वोच्च अदालतको आदेश अनुसार ढुंगलले सर्वस्वसहित जन्मकैदको सजाय भुक्तान गरिरहेका छन् । यता, सर्वोच्च अदालतले पनि ढुंगेललाई आममाफी दिनुपर्ने लिखित कारण पेश गर्न सरकारलाई आदेश दिएको छ ।








