काठमाडौं – रुकुम पश्चिमस्थित एक बालगृहमा अवैध तरिकाले राखिएका ३३ बालबालिकाको उद्दार गरिएको छ । जिल्लाको मुसीकोट नगरपालिका-१, बागबजारमा सञ्चालित नरसिङ हिमालय अनाथ बालगृहबाट जुम्लाका २४ र रुकुम पूर्वका ९ गरी ३३ बालबालिकाको उद्दार गरिएको हो ।
जिल्ला बाल कल्याण समिति, मुसीकोट नगरपालिका र जिल्ला प्रहरी कार्यालयको टोलीले सो बालगृहमा अवैध रुपमा राखिएका ३३ बालबालिकाको उद्दार गरेको हो । मापदण्ड विपरीत सञ्चालन गरिएको सो बालगृहबाट बालबालिकाको उद्दार गरी परिवारको जिम्मा लगाइएको महिला तथा बालबालिका कार्यालय जुम्लाका निरीक्षक हर्क महतले बताउनुभयो । उद्दार गरिएका सबै बालबालिकालाई आफन्तको जिम्मा लगाइने निरीक्षक महतले जानकारी दिनुभयो । रुकुम पूर्वका ९ बालबालिका भने जिल्ला बाल कल्याण समितिका संरक्षणमा छन् ।
अभिभावकलाई बोलाइएको र उनीहरु आएपछि बालबालिका जिम्मा लगाइएने जिल्ला बाल कल्याण समिति रुकुम पश्चिमका बाल अधिकार अधिकृत मानवीर ओलीले बताउनुभयो । जुम्लाको पातारासी गाउँपालिकाका १ र २ नम्वर वडाका २४ बालबालिका गत बैशाख महिनादेखि सो बालगृहमा बस्दै आएका थिए । पातारासी गाउँपालिका–१, का २० र २ नम्बर वडाका ४ जना बालबालिकालाई पठन पाठन गराउन भन्दै बालगृहले ल्याएको थियो । बालगृह सञ्चालनका न्यूनतम मापदण्ड विनै बालबालिका राखिएका कारणले बालगृहबाट बालबालिकाको उद्दार गरिएको बाल अधिकार अधिकृत ओलीले बताउनुभयो ।








