टोकियो-नेपाल आइडलबाट चर्चाको शिखरमा आएका सागर आलेले जापानमा आफ्नो भर्सटाईल प्रस्तुतिलाई दर्शकमाझ राम्रैसँग पस्तुत गरेका छन् । विभिन्न देशको सांगीतिक यात्रासँगसँगै जापानमा २२ औं लाङ्घाली साँझका क्रममा आफ्नो प्रस्तुतिका लागि आएका गायक आलेले ‘अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटैमा’गाउँदै मञ्चमा के चढेका थिए, लाङघाली साँझको माहोल एकाएक परिवर्तन भयो । उपस्थित दर्शकहरुले उत्साहपूर्वक हुटिङका साथ गडगडाहट तालीले स्वागत गरे ।
सुरुमा ‘सल्ला झैं आमा सुसाइ रहिन’ बोलको गीत गुन्गुनाउदै आलेले नेपाली सांगेतिक क्षेत्रका सम्राट नारायण गोपाललाई सम्मान प्रदर्शन गर्दा सबैलाई नतमस्तक बनाएका थिए ।
नेपथ्य व्याण्डको जीवन हो घाम छाँया सुख दुख दुवै हुन्छ बोलको गीत प्रस्तुत गर्दा सबैलाई आफ्नो जीवनका बारेमा एकपटक सोच्न बाध्य पारेका थिए ।
दर्शक सबैलाई नाच्नका लागि आग्रह गर्दै बेहास पछि त होसमा आएँ बोलको सांगीतिक प्रस्तुति दिदा उपस्थित सबै दर्शक मज्जाले नाचेका थिए ।
सालैजोमा आफ्नो राम्रो छवि बनाएका आलेले नारायण रायमाझीको सान्नानीले झुक्यायो मलाई तातो पानी तीनपाने भनेर बोलको गीत प्रस्तुत गर्दा मगर भेषभूषामा सजिएका दर्शकहरु कम्मर मर्काइ मकाई नाच्दा माहोल नै फरक बनेको थियो ।
नेपाल आइडलको अडिसन राउण्डमा आलेले प्रस्तुत गरेको फूलको थुङ्गा फेवा तालमा डुङ्गा बोलको सालैजोले त माहोललाई निकै तताएको थियो । त्यसैमाथि काले काले मिलेर खाउँ भाले, सागर आले भन्दै दर्शक दिर्घाबाट रोमाञ्चक हुटिङ भएको थियो ।
नेपाली सांगीतिक क्षेत्रका हरेक विधाका गीत प्रस्तुत गरेका आलेले मस्की मस्की हासेर जानीले बोलको पप गीतको प्रस्तुतीमा युवा पिढीका दर्शकहरुको मन जित्न सफल रहेका थिए ।
आलेले हालै बजारमा ल्याएका ‘असारै महिना सालैजो’, ‘पल्ला घरकी कान्छी नानी’लगायत अन्य गीतहरु मार्फत उपस्थित युवायुवतीहरुलाई संगीतको नशामा झुमाए ।
असक्त असहाय बालबालिकाको सहयोगका लागि मगर संघ जापानले आयोजना गरेको कार्यक्रममा नेपालका चर्चित कलाकार लोक तथा पप गायिका तारा श्रीस डान्स नेपाल सिजन २ की विजेता विष्णु दगामी मगरले पनि आफ्नो प्रस्तुति दिएका थिए ।
सागर आलेसहितको टोलीको जापानको तोचिगी, नागोया, फुकुओका र ओसाकामा समेत सांगीतिक कार्यक्रम रहेको छ ।
त्यस्तै जापानमै रहेकी नृत्याङ्गना सिजु सिंजालीमगरको आकर्षण नृत्य र देउराली पञ्चे बाजा समूहको समेत प्रस्तुती रहेको थियो ।
प्रमुख अतिथि संघका बरिष्ठ सल्लाहकार ईश्वर थापा बिशेष अतिथिहरुमा नेपाल आदिबासी जनजाती महासंघका अध्यक्ष पासाङ शेर्पा एनआरएन आइसीसीका सदस्य ओम गुरुङ लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।
कार्यकममा विभिन्न संघसंस्थाहरुको समेत उपस्थिती रहेको थियो । कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै संघसंस्थाहरुलाई अध्यक्ष दिपक बुर्जामगरले धन्यवाद ज्ञापन गरे ।
थप फोटोहरु











