Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

भनिन्थ्यो र अब भनिएला कि नभनिएला ?
चिनिएको थियो र अव चिनिएला कि नचिनिएला ?
सर्वोच्चशिखर सगरमाथाको देश नेपाल भनेर
विश्वशान्तिका अग्रदूत गौतम वुध्दको देश भनेर
एक स्वतन्त्र र सार्वभौम सम्पन्न देश भनेर
पराक्रमी र परिश्रमी वीर नेपालीको देश भनेर,
तर अपसोच,
आज यी उल्लेखित साश्वत इतिहासमा
कोरिएका भनाईहरु
केवल झुटा र मिथ्या भनाईमा परिणत
हुंदै गइरहेका छन् ।
घुसखोरी र भ्रष्टाचारीको उपनामले देशलाई चिनाइंदै छ ।
यसरी आफ्नो अस्तित्व र पहिचानमा आँच आउँदा
विश्वको सामु घृणि तर लज्जित हुनुपर्दा
कसको मन, मुटु र मस्तिष्कमा चोट पुग्दैन र ?
त्यसैले त आजकाल नेपालआमा
डाँको छोडेर रुन थालेकी छिन्
घोप्टो परेर वेदना पोखिरहेकी छिन् ।

आज वर्तमानमा आउँदा यो सत्य हुनपुगेको छ कि
रोईरहेकी नेपालआमालाई फुल्याउनुको सट्टा
उनको छातिमा लात्तीले टेकेर,
गाउँघरका सिधासाधा जनतालाई झुक्याएर
नेपालआमाको नाम भजाएर,
सिनु खान पल्केका व्वाँसारुपी मठियाहरु
ल्ााजै नमानी राज्यको ढुकुटीमा ब्रम्हलुट गरिरहेको देखेर
गरिव पीडित र निमुखा जनताहरुलाई
खोक्रो आश्वासन बाँड्दै हिंडेको देखेर
नेपालआमा इन्तु न चिन्तु भएकी छिन्,
रोदन र क्रन्दनले छटपटीरहेकी छिन्,
आशा गरिएको थियो,
अव देशमा केहि राहतको अनुभूति होला भनेर
जनताले महंगी र भ्रष्टाचारको मारबाट मुक्ति पाउलान् भनेर,
अनि देशले फेरि नयाँ इतिहास कोर्ला भनेर,
जुन जोगी आए पनि कानै चिरेका जस्तै
लक्षण र काम गराई हेर्दा त हातमा लाग्यो शून्य पो
देखिन थालेको छ
एउटा हाडमा कुकुरहरु धुरिए झैं गरी
एउटा सिनोमा स्याल र गिद्घहरु घुमे झैं गरी
मैं हुँ र मैं गर्छु भन्ने महाशयहरु
होडबाजी गर्दै घुमिरहेको देखेर
साँच्ची नै नेपालआमाको वचन बस्न लागेको छ,
मुखमा चम्चाले पानी राखिदिंदा पनि
घुटुक्क निल्न गाह्रोे मानिरहेकी छिन्,
आफु त छाराँ खुट्टा माराँभने झैं
एकपछि अर्को निहुँ झिक्दै
रडाको मच्चाइरहेको देखेर
नेपाल आमाले आखा चिम्लिन थालेकी छिन्
अनि,
सुस्त सुस्तसँग बाइ बाइ भन्न थालेकी छिन्
त्यसैले,
समयमा नै होस् गर महाशयहरु हो,
तिमीहरुको बदनाम र कुकृत्यले गर्दा
सात जुनीपछि सम्मका सन्ततीले
तिमीहरुलाई सत्तो सराप गर्न नपरोस्
तिमीहरुको नाममा धिक्कार र विचराको
पोको खोल्न नपरोस् ।
तसर्थ,
सवैलाई चेतना भया कि !
वचन बस्न लागेकी नेपाल आमालाई
आर्यघाटमा पुर्‍याउने चेष्टा नगरियोस्
ताकी ,उनको समयमा नै सहि उपचार गराएर
जुनीजुनी सम्म पनि
नेपालआमा, नेपालआमा भनेर
संवोधन गरिरहन पाईयोस्
अनि,
वीर नेपालीको नामले गर्व गर्न पाइयोस्

 

हर्मी – ३ गोरखा
हाल टोकियो, जापान

 

 

 

तपाईको प्रतिक्रिया