काठमाडौ- मुख्यसचिव लीलामणि पौडेलले विभिन्न मन्त्रालयका सचिवहरूसित कार्यक्रम स्वीकृति गराउन ढिलाइ गरेकामा असन्तुष्टि व्यक्त गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आइतबार बसेको सचिवहरूको बैठकमा उनले बजेटमा विभिन्न मन्त्रालयले साउन १५ भित्र कार्यक्रम स्वीकृत गराइसक्नुपर्ने समय तोकिए पनि हालसम्म स्वीकृत नगराएकामा असन्तुष्टी व्यक्त गरेका हुन् ।मन्त्रालयहरूले बजेटमा परेका योजना कार्यान्वयन गर्न योजना आयोगबाट कार्यक्रम स्वीकृति गराउनुपर्छ । कार्यक्रम स्वीकृति गर्न ढिलाइ भएमा काम सुरु गर्न ढिलो हुने र योजनाको प्रगति सन्तोषजनक नहुने चिन्ता मुख्यसचिवको छ ।
एकाधबाहेक सबैजसो मन्त्रालयको कार्यक्रम स्वीकृत हुन बाँकी छ । सचिवहरूले आफ्ना मन्त्रालयका कारण नभई योजना आयोगबाट केन्द्रीय र जिल्लागत योजना तथा कार्यक्रम उल्लिखित भाग १ र भाग २ आउन ढिलाइ भएकाले हालसम्म धेरैजसो कार्यक्रम स्वीकृत गराउन नसकिएको स्पष्टीकरण दिएका थिए ।
केन्द्रीय योजनाहरू उल्लिखित भाग-१ साउन ९ मा प्रकाशित भए पनि जिल्लागत योजना र कार्यक्रमको विवरण हुने भाग-२ योजना आयोगले प्रकाशित गरी मन्त्रालयहरूलाई वितरण गर्नै बाँकी छ । भाग-२ बेवसाइटमा राखिए पनि किताबका रूपमा प्रकाशन भइसकेको छैन ।








