यूके-दुरा सेवा समाज यूकेले आफ्नो स्थापनाको पाँचौ वाषिर्कोत्सव भव्यताका साथ सम्पन्न गरेको छ । दुरा सेवा समाज, नेपालका संस्थापक अध्यक्ष भक्तवहादुर दुराको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको उदघाटन प्रमुख अतिथि र समाजका जेष्ठ सदस्य जंगवहादुर दुराले संयुक्त रुपमा पानसमा दीयो प्रज्वलनबाट शुरु भएको थियो । कार्यक्रमको बारेमा होमवहादुर दुराले छोटकरीमा जानकारी दिनुभएको थियो । समाजका अध्यक्ष कर्णवहादुर दुराको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा दुरा सेवा समाज यूकेका उपाध्यक्ष श्रीप्रसाद दुराले स्वागत मन्तव्य राख्नुभएको थियो ।
नेपाली राष्ट्रिय गानबाट शुरु गरिएको कार्यक्रममा नेपाली नयाँ वर्षो शुभकामना आदानप्रदान पनि गरिएको थियो । त्यसैगरी दुरा सेवा समाज यूकेका आगन्तुक नयाँ सदस्यहरुलाई स्वागत गर्नुका साथसाथै नव विवाहित जोडीहरुलाई पनि वधाई तथा सुखद दाम्पत्य जीवनको कामना गरिएको थियो ।
सोही अवसरमा समाजका उच्च शिक्षा हासिल गर्ने सदस्यहरुलाई पनि सम्मान गरिएको थियो । प्रमुख अतिथिको आसनबाट बोल्दै समाजको सामाजिक विकासको लागि दुराहरु एकजुट हुनुपर्नेमा जोड दिनुभयो । त्यसैगरी कार्यक्रममा समाजका सचिव गणेशवहादुर दुराले समाजको प्रगति विवरण, कोषाध्यक्षर् इन्द्रवहादुर दुराले आर्थिक आयव्याय विवरण प्रस्तुत गर्नुभएको थियो ।
दुइ दिनसम्म चलेको कार्यक्रममा दोस्रो दिनको अन्तरक्रिया कार्यक्रममा विभिन्न विषयको बारेमा छलफल गरिएको थियो । दुरा महिलाहरुको सामाजिक, आर्थिक र शैक्षिक विकासमा पहुँच पु्याउने उद्देश्य सहित श्रीमती गंगादेवी दुराको अध्यक्षतामा आमा समूहको पनि गठन गरिएको थियो । समितिका उपाध्यक्षमा इन्द्रदेवी दुरा, सचिवमा कमलादेवी दुरा, सह-सचिवमा टीकादेवी दुरा, कोषाध्यक्षमा राधा माया दुरा, सहकोषाध्यक्षमा भिमकुमारी दुरा रहनुभएको छ । अन्य समितिका सदस्यहरु पछि थपिने योजना रहेको छ ।
कार्यक्रमको अन्तमा सभापति कर्णवहादुर दुराले सभाको विर्सजन गर्नुभएको थियो । कार्यक्रमको सन्चालन समाजका सचिव गणेशवहादुर दुराले गर्नुभएको थियो ।








