काठमाडौ- शीतल निवासमा रहेका कूटनीतिक महत्त्वका ऐतिहासिक कागजात राष्ट्रिय अभिलेखालयमा ल्याएर थन्क्याएको तीन वर्ष बित्दा पनि यसको मूल्यांकन, संरक्षण र उपयोगमा कुनै चासो देखिएको छैन ।‘जैसीकोठादेखि मुन्सीखाना हुँदै परराष्ट्र मन्त्रालय का पछिल्ला अभिलेख तथा कागजात अभिलेखालयमा आइपुगेका छन्,’ अभिलेखालयका प्रमुख प्रकाश दर्नालले कान्तिपुरसँग भने, ‘तर यी कागजात प्रक्रियानुसार बरबुझारथ हुन नसक्दा भण्डारणको काम मात्रै भएको छ । यहाँ ताला मारेर राखिएको अभिलेख कोठाको चाबी भने परराष्ट्रमा छ ।’
नेपाल एकीकरणपछि परराष्ट्र मामला हेर्ने गरी गठन भएको जैसीकोठा र १८६० सालपछि प्रधानमन्त्री भीमसेन थापाले रूपान्तरण गरेको मुन्सीखानासम्मका कागजात अभिलेखालयको एउटा कोठामा तालाबन्द छन् । २०६६ वैशाखदेखि शीतलनिवास राष्ट्रपति कार्यालयका साथै निवासमा रूपान्तरित भएपछि परराष्ट्रका सम्पूर्ण कागजात त्यहाँबाट हटाइएको हो ।
राष्ट्रपति कार्यालयलाई ठाउँ दिने क्रममा ‘ परराष्ट्र मन्त्रालय मा रहेका पुराना अभिलेख, कागजातलाई पञ्जीकरण गरी व्यवस्थित रूपमा राख्ने निर्णय भएबमोजिम’ ठाउँसारी गरिएको भए पनि परराष्ट्रका अधिकारीको चासो यसतर्फ गएको छैन । परराष्ट्रको जायजेथा तथा अभिलेख व्यवस्थित गर्न विगतमा सहसचिव धनञ्जय झाको संयोजकत्वमा समिति गठन भएको थियो ।
तर संयोजक झा स्वयं संयुक्त अरब इमिरेट्सका लागि राजदूत बनेर गएको एक वर्ष हुनै लाग्दा पनि अभिलेखालयमा राखिएका कागजातबारे ध्यान जान सकेको छैन । ‘यसै साता मेरै संयोजकत्वमा अर्को समिति बनेको छ, अब हामी अभिलेखालयमा रहेका कागजातको मूल्यांकन, वर्गीकरण तथा व्यवस्थापनको काम थाल्नेछौं,’ परराष्ट्र प्रवक्ता एवं नवगठित समितिका संयोजक अर्जुनबहादुर थापाले भने ।
अभिलेखालयको वातानुकूलित कोठामा कागजातका पोकाहरू राखिएको भए पनि तीन वर्षअघि ल्याएर थुपारेयता फेरि अनुगमन हुन सकेको छैन । कागजातका पोकाबारे तयार पारिएका छवटा सूचीपत्रको रजिस्टरमा मु.का. (मुसाले काटेका), पा.प. (पानी परेका), दे.का. (देसी कागज), ने.का. (नेपाली कागज) र की.खा (कीराले खाएका) थानहरूको छुट्टै विवरण छ ।
यसअघि २०४३ सालमा पनि परराष्ट्रमा रहेका कागजातको एक अंश अभिलेखालयमा दर्ता भएर सर्वसाधारणले अध्ययन गर्न पाउने व्यवस्था तय भइसकेको छ । तालाबन्द कोठामा रहेका अभिलेखबारे सूचीपत्रअनुसार ‘नेपालका लागि भारत सरकारले नोट छापिदिने, सटही केन्द्र खोल्ने सुविधाबारे’, ‘नेपाल-भोट सीमा सम्बन्धी’, ‘चीन बादशाहले श्री ३ लाई खिताब बक्सेको कुरा’, ‘विश्वयुद्धसम्बन्धी कागजातहरू’ पोका र थानमा छन् । यस्तै बि्रटिस लिगेसनमा रहेको बिजुली बत्ती (१९९५), टेलिफोनको तार चोरिएको सम्बन्धमा (२००९) रहेका अभिलेख पनि संग्रहित छन् । १९१८ सालको एउटा अभिलेखअनुसार ‘चिनियाँ भोटे भारदारले नेवार महाजनहरू लुटिएको, ङ्याङलुङ भोटेलाई गोर्खामा सुम्पिदेऊ भन्नेबारे तथा राहदानी नलिई भोटमा पुगेको महाजनलाई सजाय गर्नुहोला भन्ने चिठ्ठी’ पनि तालाबन्द कोठामा थन्किएको छ ।
अभिलेख संरक्षण नियमावली- २०६३ अनुसार २५ वर्ष पुराना सरकारी अभिलेख अनिवार्य रूपमा अभिलेखालयमा बुझाउनुपर्ने भनिए पनि कुनै मन्त्रालय र सरकारी अड्डाले बुझाउने गरेका छैनन् । परराष्ट्रले आफ्ना अभिलेख बुझाउने ‘बाध्यता’ दर्शाए पनि त्यसलाई व्यवस्थित गर्ने र उपयोगमा ल्याउने कुनै चासो देखाएको छैन ।
इतिहासविद् दिनेशराज पन्तका अनुसार जैसीकोठादेखि मुन्सीखानासम्मका २ लाखभन्दा बढी कागजात परराष्ट्रमा रहेको हुन सक्ने अनुमान छ । ‘इतिहासमा ज्योतिषीले परराष्ट्र चलाउने भएकाले जैसीखाना भनिएको थियो र पछि अरबी, फारसी भाषाको काम परराष्ट्रमा परेकाले मुन्सीखाना भनिएको स्थिति हो,’ पन्तले भने ।








