अमेरिका (फ्लोरिडा)- यहाँका विभिन्न पाँच सहरमा सञ्चालित नेपाली पाठशालाका स-साना बालबालिकाले सरस्वतीको पूजा आराधना गरी वसन्त पञ्चमी मनाएका छन्।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास, फ्लोरिडा च्याप्टरबाट यहाँका ओर्ल्यान्डो, ज्याक्सनभिल, वेस्टपामबीच, ट्याम्पा र मायमी सहरमा सञ्चालित नेपाली पाठशालाका करिब १०० जना बालबालिकाले आ-आफ्नो पाठशालामा सरस्वती पूजा गरेका हुन्।
वेस्टपामबीच पाठशालाले भने यहाँको डे्रयर पार्कमा सरस्वती माताको पूजा, अर्जना, भजन र विभिन्न बाल शैक्षिक र मनोरञ्जनात्मक कार्यक्रम गरेको थियो।
अनेसासका अध्यक्ष कृष्ण श्रेष्ठले समारोहको शुभारम्भ गर्दै आफ्नो भातृभाषा तथा साहित्य संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्दै जानुपर्छ भन्ने उद्देश्यले बालबालिकामाझ सरस्वती पूजा गरिएको जानकारी गराए।
समारोहमा फ्लोरिडा नेपाल एसोसिएसनका अध्यक्ष डा अर्चना कट्टेल, फ्लोरिडा एसोसियसन अफ नेपाली सोसाइटिजका अध्यक्ष विमल नेपाल, पाठशालाका गुरुआमा शान्ता गौतम, अनेसासका वरिष्ठ उपाध्यक्ष सावित्री श्रेष्ठलगायतले यस किसिमको पूजाआजासहितको कार्यक्रमबाट बालबालिकाहरूले सरस्वती पूजाजस्ता नेपाली चाडपर्वका बारे जानकारी पाउने विश्वास व्यक्त गरेका थिए।








