टोकियो – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई जापानबाट टेलिफोनमार्फत ज्यान लिने धम्की जाने गरेको समाचार सार्बजनिक भईरहँदा सो पार्टीको जापान इकाई समितिले एक बिज्ञप्तीमार्फत यस्ता कार्य अविलम्ब रोक्न नेपाल सरकारसंग माग गर्दै मुलुकलाई बिखण्डन हुनबाट जोगाउन देश-बिदेशमा रहेका समस्त नेपालीहरुलाई एकजुट हुन अपिल गरेको छ ।
सो पार्टीको हालसम्म सुन्नमा नआएको जापान इकाई समितिको तर्फबाट संयोजक मीरा पुरीले एक बिज्ञप्ती प्रकाशित गर्दै मुलुकलाई बिखण्डन हुनबाट जोगाउन संसारभरिका नेपालीहरुलाई एकजुट हुन अपिल गरेकी हुन् ।
बिज्ञप्तीमा, संघीयताको बिरुद्धमा निरन्तर आवाज उठाउदै आएका नेता केसीलाई ज्यान मार्ने धम्की आउनु, सुदुर पश्चिममा भयावह स्थिति उत्पन्न हुनु जस्ता घटनाले संघीय राज्य मुलुकका लागि कति उपयुक्त छ भन्ने पुष्टि गरेको बताईएको छ ।
बिज्ञप्तीमा अगाडि भनिएको छ – आज देशमा बढ्दै गईरहेको अराजक गतिबिधिबाट बिभिन्न जातीय समुहबिचको अस्वभाविक प्रतिस्पर्धाले देशलाई गम्भीर संकट उत्पन्न हुने अवस्था सिर्जना गरेको छ । यसैको ज्वलन्त उदाहरण अखण्ड सुदुर पश्चिमको माग होस् वा एक मधेश एक प्रदेश मिथिला राज्यको माग वा तमुवान, लिम्बुवान राज्यको माग गर्दै धर्नामा बसेका ब्यक्तिहरुको ज्यानै जानेसम्मको बम बिस्फोटले जातीय संघीय राज्य कति सफल हुन्छ भन्ने पुष्टि गर्दछ । यसैले संघीयतामा जाँदा मुलुकले अत्यन्तै गम्भीर एवं भयावह क्षति ब्यहोर्नुपर्ने देखिन्छ – बिज्ञप्तीमा भनिएको छ ।
बिज्ञप्तीमा भनिएको छ – नेपालका कम्युनिष्ट आन्दोलनका आदरणीय नेता तथा संघीयता बिरुद्धको आन्दोलनमा नेतृत्वदायी भूमिका निर्बाह गर्दै आउनुभएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष कमरेड चित्रबहादुर केसीज्यूलाई बिभिन्न टेलिफोन नम्बरबाट ज्यानै मार्ने धम्की आईरहेको कुरा सार्बजनिक भएको छ । यस किसिमका धम्की आउनु एउटा धार्मिक तथा जातीय सहिष्णुता खलबल्याउने खालको मानसिकताको उपज हो, त्यसैले यस किसिमका कार्य रोक्न नेपाल सरकारसंग माग गर्दै बिभिन्न मुलुकहरुमा छरिएर रहेका नेपालीहरु एवं बिदेशी शुभचिन्तकहरु एकजुट भई देशलाई बिखण्डन हुनबाट रोक्न हार्दिक अपिल गर्दछौं – बिज्ञप्तीमा उल्लेख छ । ***








