काठमाडौं- जापानका विदेशमन्त्री कोइचिरो गेम्बा नेपालको दुई दिने औपचारिक भ्रमण पूरा गरी आज अपराह्न भारतको राजधानी नयाँ दिल्लीतर्फ प्रस्थान गरेका छन्।
उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको मैत्रीपूर्ण निमन्त्रणमा ११ सदस्यीय जापानी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विदेशमन्त्री गेम्बा हिजो राति काठमाडौं आएका थिए।
उनलाई मन्त्री श्रेष्ठ तथा नेपालका लागि जापानी राजदूत कुनियो ताकाहासीलगायतले बिदाई गरे। यहाँ रहँदा उनले विदेश मन्त्रीस्तरीय वार्तामा जापानी प्रतिनिधिमण्डलको नेतृत्व गर्नुका साथै राष्ट्रपति, प्रधानमन्त्री, प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए।








