टोकियो – नेपालमा लोकतन्त्र स्थापना भएको सातौं बर्ष गाँठको अवसरमा नेपाली राजदूतावास टोकियोमा सोमबार एक समारोहको आयोजना गरी लोकतन्त्र दिवस मनाईयो ।
लोकतन्त्र दिवस समारोहमा बोल्दै जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराईले लोकतन्त्र प्राप्तीका लागि सहादत प्राप्त गर्ने ज्ञात-अज्ञात सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली र घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो । साथै उहाँले उपस्थित सबैमा लोकतन्त्र दिवसको उपलक्षमा हार्दिक बधाई तथा शुभकामना पनि ब्यक्त गर्नुभयो । उहाँले नेपाल सरकारले चालु बर्षलाई लुम्बिनी भ्रमण बर्षकारुपमा मनाउन गईरहेको सन्दर्भमा लुम्बिनीको प्रचारप्रसार एवं बृहत्तर बिकासका लागि जापानमा एउटा बृहत कार्यक्रम गर्ने बारे गृहकार्य भईरहेको जानकारी गराउनुभयो । यसैगरी उहाँले सगरमाथाको प्रचारप्रसार गर्नका लागि अर्को बर्ष जापानमा अर्को एक बृहत कार्यक्रमको आयोजना गर्ने बारे पनि पहल भईरहेको खुलासा गर्नुभयो।
लोकतन्त्र दिवस समारोहमा जापानमा रहेका बिभिन्न संघसंस्थाका प्रतिनिधि एवं ब्यवसायी, समाजसेवी, मिडियाकर्मी एवं बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
उपस्थित सहभागीहरुले लोकतन्त्र दिवसको बारेमा चर्चा गर्दै सहिदहरुप्रति श्रद्धाञ्जली ब्यक्त गरेका थिए । कार्यक्रममा बोल्ने अधिकाँश वक्ताहरुले लोकतन्त्रको सँस्थागत बिकास र सुदृढीकरणका लागि राजनीतिक दल, अधिकारकर्मी, नागरिक समाज, मिडिया जगत सबै उतिकै जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्नेमा जोड दिएका थिए ।
मन्तब्य ब्यक्त गर्नेहरुमा नेपाली जनसम्पर्क समितिका अध्यक्ष बलराम श्रेष्ठ, महामन्त्री आनन्दबहादुर क्षेत्री, नेका महाधिवेशन प्रतिनिधि सुबास लोहनी, थसेस जापानका अध्यक्ष शरदकुमार गौचन, प्रवासी नेपाली पत्रकार सञ्जालका संयोजक भूषण घिमिरे, नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष तिलक मल्ल, एनआरएन आईसीसीका कोषाध्यक्ष भवन भट्ट, एनआरएन जापानका उपाध्यक्ष चिरिञ्जीवी थापा, कोषाध्यक्ष नरबहादुर थापा, सदस्य राजु ढकाल, एनआरएन कान्तो अध्यक्ष जोन छन्त्याल, एनडिएफ कान्तो अध्यक्ष देवीलाल भण्डारी, तमु धीं जापानका अध्यक्ष हर्क गुरुङ, मनाङ सोसाईटी जापानका अध्यक्ष पेम्बा लामा, म्याग्देली सञ्जाल जापानका उपाध्यक्ष महेन्द्र बानिया, अन्तरराष्ट्रिय नेपाली समाज जापानका अध्यक्ष शालिकराम भण्डारी, नेपाल आदिबासी जनजाती महासंघका महासचिव पासाङ शेर्पा, ब्यवसायी ईश्वर थापा, नेपाल जापान डट कमकी नारायणी आचार्य, समाजसेवी गायत्री पौडेल, राजेन्द्र श्रेष्ठ, दिनेश कार्की र डा. कोबयासी, निसिओ लगायतका नेपाललाई माया गर्ने जापानीहरु रहेका थिए ।
यसअघि लोकतन्त्र प्राप्तीका लागि जीवन उत्सर्ग गर्ने ज्ञात अज्ञात सहिदहरुपति भावपूर्ण हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै १ मिनेट मौन धारणबाट कार्यक्रम शुरु गरिएको थियो । उपस्थित महानुभावहरुलाई स्वागत गर्दै दूतावासका उपनियोग प्रमुख तापस अधिकारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । लोकतन्त्र दिवस समारोह दूतावासको सभाहलमा भएको थियो । ***








