काठमाडौं- प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गृह मन्त्रालयबाट सरुवा गरिएका प्रधानमन्त्री कार्यालयका सचिव लीलामणि पौड्याललाई मुख्य सचिव बनाउने तयारी गरेका छन् ।राजनीतिक आधारमा कर्मचारी प्रशासनमाथि हस्तक्षेपत नगर्ने बताएका प्रधानमन्त्री भट्टराईले माओवादी निकट भनेर चिनिएका सचिवलाई मुख्य सचिव बनाउन बहालवाला मुख्य सचिवलाई अवकाश गर्न लगाउने भएका छन् ।
आगामी साउनमा अवकाश पाउन लागेका मुख्य सचिव माधव घिमिरेलाई राजदूत बनाउने आश्वासन दिएर राजीनामा गराउने योजना प्रधानमन्त्रीको छ । घिमिरेलाई पूर्ववर्ति माधवकुमार नेपाल नेतृत्वको सरकारले मुख्य सचिव बनाएको थियो ।
कृष्णबहादुर महरा गृहमन्त्री हुँदा गृहसचिव बनाइएका र गच्छदार आएपछि प्रधानमन्त्री कार्यालयमा तानिएका लिलामणिलाई मुख्य बनाउने तयारी भइरहेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।
सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री भट्टराईले निजामति सेवा ऐनमै संसोधन गरि पदपूर्ति र बढुवाको प्रणाली हेरफेर गर्न लागेको बताइएको छ । यसबाहेक सरकारले करिव २४ सहसचिवको सरुवा तयारी गरिरहेको सामान्य प्रशासन मन्त्रालय स्रोतको दाबी छ ।








