Deneme Bonusu Veren Siteler
शुक्रबार, असार २६, २०८३
Friday, July 10, 2026

टोकियो – बढ्दो महँगी र आर्थिक असुरक्षाका कारण यस वर्ष जापानी नागरिकहरूले आफ्नो गर्मी बिदाको बजेटमा उल्लेख्य कटौती गर्ने भएका छन् । बिहीबार सार्वजनिक गरिएको एक अध्ययनअनुसार, विगत पाँच वर्षमा पहिलोपटक जापानीहरूको बिदा मनाउने औसत खर्चमा गिरावट आएको हो ।

यस वर्ष जापानीहरूले गर्मी बिदामा औसत ८५ हजार १४५ येन खर्च गर्ने योजना बनाएका छन् । यो अघिल्लो वर्षको तुलनामा १९ हजार ७५६ येनले कम हो । गत वर्ष यो बजेट हालसम्मकै उच्च अर्थात् १ लाख ४ हजार ९०१ येन पुगेको थियो ।

जुन महिनामा गरिएको अनलाइन सर्वेक्षणमा २०.७ प्रतिशत उत्तरदाताले यसपटक आफ्नो खर्च घटाउने बताएका छन् भने केवल १२.३ प्रतिशतले मात्र बजेट बढाउने योजना सुनाएका छन् । महँगीका कारण घरायसी बजेटमा परेको दबाबलाई नै खर्च कटौतीको मुख्य कारण मानिएको छ । त्यसबाहेक आम्दानीमा आएको गिरावटलाई दोस्रो ठूलो कारणका रूपमा लिइएको छ ।

खर्च मात्र होइन, बाहिर घुम्न निस्कने जापानीहरूको सङ्ख्यामा पनि कमी आएको छ । ४१.६ प्रतिशत उत्तरदाताले यस वर्षको गर्मी बिदामा कतै नजाने र घरमै बस्ने योजना बनाएका छन् । गत वर्ष यस्तो योजना बनाउनेहरू ३५.३ प्रतिशत मात्र थिए । घुम्न नजानुका कारणहरूमा अत्यधिक गर्मी पहिलो स्थानमा छ भने महँगी दोस्रो कारण बनेको छ ।

मेइजी यासुदा रिसर्च इन्स्टिच्युटका अर्थशास्त्री युकिहिरो मोरिता भन्छन्, ‘जापानी उपभोक्ताहरू यतिबेला आफ्नो घरायसी वित्त जोगाउन ‘डिफेन्सिभ’ (रक्षात्मक) बन्न थालेका छन् ।’ उनका अनुसार महँगीले गर्दा सर्वसाधारणले मनोरञ्जन र भ्रमणको बजेट कटौती गरेर दैनिक आवश्यकताका लागि पैसा जोगाउन थालेको सङ्केत यसले दिएको छ । यो सर्वेक्षण २० देखि ५० वर्ष उमेर समूहका १ हजार १२० जनामाझ गरिएको थियो ।

तपाईको प्रतिक्रिया