Deneme Bonusu Veren Siteler
आइतवार, साउन ३, २०८३
Sunday, July 19, 2026

टोकियो – जापानको केन्द्रीय बैंक (बैंक अफ जापान) ले मुद्रास्फीति नियन्त्रण गर्न चालेको ब्याजदर वृद्धिको कदमले भर्खरै कलेज सकेर व्यावसायिक जीवनमा प्रवेश गरेका युवाहरूलाई ठूलो आर्थिक झट्का दिएको छ । दशकौँदेखि न्यून ब्याजदरको सुविधा भोगिरहेका जापानी स्नातकहरू यतिबेला शैक्षिक ऋणको भार ६ गुणाभन्दा बढीले बढेपछि चिन्तित बनेका छन् ।

जापान स्टुडेन्ट सर्भिस अर्गनाइजेसनले उपलब्ध गराउने स्थिर ब्याजदरको ऋणमा यो वृद्धि देखिएको हो । तथ्याङ्कअनुसार, सन् २०२४ को आर्थिक वर्षमा करिब ६ लाख २३ हजार विद्यार्थीले ५ खर्ब ५६ अर्ब येन बराबरको ऋण लिएका थिए ।

ऋण लिँदाको समयमा न्यून रहेको ब्याजदर स्नातक तह पूरा गर्दाको समयमा तय हुने प्रावधानका कारण विद्यार्थीहरू मारमा परेका हुन् । सन् २०२२ को मार्चमा हाइस्कूल पढ्दै गर्दा यस ऋणको ब्याजदर केवल ०.३६९ प्रतिशत थियो । तर, यसै वर्षको मार्चमा स्नातक भएकाहरूका लागि यो दर ह्वात्तै बढेर २.४२३ प्रतिशत पुगेको छ ।

जुन महिनासम्म आइपुग्दा यो दर २.९२२ प्रतिशत पुगिसकेको छ, जुन यो ऋण कार्यक्रमको अधिकतम सीमा (३ प्रतिशत) को निकै नजिक हो । यसको अर्थ, यदि कुनै विद्यार्थीले विश्वविद्यालय पढ्दा मासिक १ लाख येन ऋण लिएको थियो भने, २० वर्षको अवधिमा उसले पहिलेको तुलनामा करिब १० लाख येन अतिरिक्त ब्याज मात्र बुझाउनुपर्ने हुन्छ ।

जापानमा दशकौँदेखि कायम रहेको ‘डिफ्लेसन’ (मूल्य गिरावट) को अवस्था अन्त्य भएसँगै केन्द्रीय बैंकले आफ्नो नीतिगत दर १ प्रतिशत पुर्‍याएको छ, जुन ३१ वर्षयताकै उच्च हो । मध्यपूर्वमा जारी द्वन्द्वका कारण बढेको ऊर्जाको मूल्य र अमेरिकी डलरको तुलनामा जापानी ‘येन’ कमजोर हुँदा महँगी अकासिएको छ । यसैबीच, प्रधानमन्त्री सानाए ताकाइचीको सरकारले अर्थतन्त्र चलायमान बनाउन खर्च बढाउने नीति लिएपछि बजारमा ब्याजदर अझै बढ्ने सङ्केत देखिएको छ ।

बढ्दो ब्याजदरका कारण दक्ष जनशक्ति पाउन मुस्किल भएपछि जापानी कम्पनीहरूले नयाँ जुक्ति निकालेका छन् । नयाँ कर्मचारीलाई आकर्षित गर्न र पुरानालाई टिकाउन धेरै कम्पनीहरूले आफ्ना कर्मचारीको विद्यार्थी ऋण आफैँ तिरिदिने कार्यक्रम सुरु गरेका छन् ।

चार वर्षअघि केवल ३२० वटा कम्पनीले यस्तो सुविधा दिने गरेकामा अहिले यो सङ्ख्या बढेर ४,८५२ पुगेको छ । यो पहलले शैक्षिक ऋणको मारमा परेका युवाहरूलाई केही राहत दिए तापनि समग्र युवा पुस्ताको आर्थिक भविष्य भने ब्याजदरको उतारचढावसँगै जोखिममा परेको छ ।

तपाईको प्रतिक्रिया