काठमाडौं – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई भारतीय गुप्तचर संस्था ‘रअ’ को निर्देशनमा काम गरेको भन्ने रामबहादुर थापा ‘बादल’को भनाईमा कुनै तर्क नरहेको प्रष्ट पार्नुभएको छ । माओवादीको मधेश राज्य समितिले बीरगंजमा गर्ने शुभकामना आदान प्रदान कार्यक्रममा भाग लिन पुगेका प्रचण्डले आफूले ‘रअ’ को निर्देशनमा काम गरेको पुष्टि गर्न चुनौति दिनुभयो ।पार्टी महासचिव रामबहादुर थापा ‘बादल’ले आइतबार चितवनको एक कार्यक्रममा प्रचण्ड भारतीय गुप्तचर संस्था रअको निर्देशनमा चलेको आरोप लगाउनु भएको थियो ।
आफूले रअ का लागि काम गरे नगरेको निष्कर्ष निकाल्ने अधिकार नेपाली नागरिकमा रहेको प्रचण्डले प्रतिकृया दिनुभयो । उहाँले पार्टीभित्र भएको असन्तुष्टीलाई स्वाभाविक रुपमा लिंदै पार्टी कुनै हालतमा नफुट्ने प्रतिबद्धता दोहो-याउनुभयो ।
पार्टीबाटै सरकारको विरोध हुन थालेको भन्ने सञ्चारकर्मीको जिज्ञासामा प्रचण्डले सरकारका काम कारवाहीप्रति टिप्पणी आउनु स्वाभाविक भएको प्रतिकृया दिनुभयो ।








