Deneme Bonusu Veren Siteler
शुक्रबार, असार २६, २०८३
Friday, July 10, 2026

टोकियो – जापानमा मुस्लिम समुदायको संख्यामा वृद्धि भएसँगै मस्जिद निर्माण गर्ने योजनाहरूमा स्थानीय बासिन्दाहरूले कडा विरोध जनाउन थालेका छन् । कानागावा प्रान्तको फुजिसावा शहरमा प्रस्तावित मस्जिद निर्माणको विषयलाई लिएर हालै आयोजित एक सार्वजनिक छलफलमा स्थानीय र आयोजकबीच तनाव उत्पन्न भएपछि जापानी समाजमा धार्मिक र सांस्कृतिक द्वन्द्वको नयाँ बहस सुरु भएको छ ।

स्थानीय बासिन्दाहरूले मस्जिद निर्माणका कारण ध्वनि प्रदूषण (अजानको आवाज), ट्राफिक जाम बढ्ने र धार्मिक संस्कारका क्रममा हुने शव व्यवस्थापन जस्ता कार्यले सार्वजनिक स्वास्थ्य र सुरक्षामा असर पर्ने चिन्ता व्यक्त गरेका छन् । फुजिसावामा मस्जिद निर्माणविरुद्ध अनलाइनमार्फत ३० हजारभन्दा बढीले हस्ताक्षर संकलन गरेका छन् ।

केही स्थानीयले मुस्लिम समुदायले सूचना लुकाएको आरोप लगाएका छन् भने कतिपयले अपरिचित संस्कृतिप्रति डर महसुस गरेको बताएका छन् । गत फेब्रुअरीमा भएको एक छलफलमा स्थिति नियन्त्रण बाहिर गएपछि प्रहरीले हस्तक्षेप गर्नुपरेको थियो ।

एक तथ्याङ्क अनुसार जापानमा मुस्लिमहरूको संख्या तीव्र गतिमा बढिरहेको छ। सन् २०१० मा करिब १ लाख १० हजार रहेको मुस्लिम जनसंख्या सन् २०२४ को अन्त्यसम्ममा ४ लाख २० हजार पुगेको अनुमान छ । त्यसैगरी, सन् २००८ मा ५० को हाराहारीमा रहेका मस्जिदहरूको संख्या हाल १६४ पुगेको छ । इन्डोनेसिया र अन्य मुस्लिम देशहरूबाट आउने प्राविधिक प्रशिक्षार्थी र कामदारहरूको संख्या बढेसँगै यो जनसंख्या वृद्धि भएको हो ।

मुस्लिम प्रतिनिधिहरूले भने आफूहरूले जापानी कानुन र नियमको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएका छन् । फुजिसावा मस्जिदका प्रतिनिधिले बाहिर आवाज नजाने गरी भित्र मात्र लाउडस्पिकर प्रयोग गर्ने, ट्राफिक व्यवस्थापनका लागि स्वयंसेवक परिचालन गर्ने र शव गाड्ने जस्ता कार्य नगर्ने स्पष्ट पारेका छन् । ‘हामी जापानलाई माया गर्छौँ र स्थानीयलाई असुविधा हुने कुनै पनि काम गर्ने छैनौँ,’ एक सदस्यले बताए ।

कानागावा शहरमा भने लामो समयको विवादपछि मुस्लिम समुदाय र स्थानीय बासिन्दाबीच समझदारी कायम भएको उदाहरण छ । त्यहाँ सन् २०१४ मा मस्जिद निर्माण भएपछि मुस्लिमहरूले स्थानीयसँग विभिन्न सामाजिक कार्यक्रमहरू गर्दै आएका छन् । तर, अझै पनि सानातिना गल्तीले आपसी विश्वास टुट्ने डर कायम रहेको उनीहरूको भनाइ छ ।

तपाईको प्रतिक्रिया