Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले अब भाषण र आश्वासनको चरण सकिएको घोषणा गर्दै जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी परिणाममुखी काम गर्ने बेला आएको बताएका छन् । उनले ऊर्जालाई उज्यालोको स्रोत मात्र नभई राष्ट्रिय समृद्धिको मुख्य आधारस्तम्भका रूपमा स्थापित गर्न सरकार दृढ रहेको प्रतिबद्धता व्यक्त गरे

विद्युत विकास विभागको ३२औं वार्षिकोत्सव समारोहलाई सोमबार सम्बोधन गर्दै मन्त्री खड्काले भने, ‘हामीले भाषण धेरै गर्‍यौं, अब शब्दलाई काममा बदल्ने बेला हो । ऊर्जा क्षेत्रको विकासमा कुनै नीति, नियम वा प्रक्रिया बाधक बनेको छ भने त्यसलाई तत्काल संशोधन गरेर भए पनि अघि बढ्छौं ।’

मन्त्री खड्काले ऊर्जा विकासमा देखिएका जमिन अधिग्रहण, प्रसारण लाइन विस्तार र वातावरणीय स्वीकृतिका प्रक्रियागत झन्झटलाई हटाउन सरकारले ठोस कदम चाल्ने संकेत दिए । उनले भने, ‘ढिलासुस्ती गर्ने छुट अब कसैलाई छैन । हरेक नेपालीको चुल्होमा बिजुली पुर्‍याउने र उद्योगधन्दालाई सहज ऊर्जा उपलब्ध गराउने लक्ष्यमा हामी एक इन्च पनि पछि हट्दैनौं ।’

विश्व कृत्रिम बौद्धिकताको युगमा प्रवेश गरिसकेको सन्दर्भ उल्लेख गर्दै मन्त्री खड्काले भविष्यको प्रविधि सञ्चालनका लागि आवश्यक पर्ने अथाह ऊर्जाको माग पूरा गर्न उत्पादन, प्रसारण र वितरण प्रणालीलाई एकसाथ सुदृढ गर्नुपर्नेमा जोड दिए । ‘हामीसँग भएको सम्भावनालाई सदुपयोग गर्न सक्यौं भने ऊर्जा नै हाम्रो व्यापार घाटा कम गर्ने र समृद्धि आर्जन गर्ने प्रमुख हतियार बन्न सक्छ,’ उनले भने

निजी क्षेत्रको लगानी र योगदानविना ऊर्जा क्षेत्रको द्रुत विकास असम्भव रहेको स्वीकार गर्दै मन्त्री खड्काले सरकार र निजी क्षेत्रबीच विश्वासिलो साझेदारी निर्माण गर्न आफू प्रतिबद्ध रहेको बताए। गत आर्थिक वर्षमा ४३२ मेगावाट जलविद्युत् र ३५ मेगावाट सौर्य ऊर्जा थप गरी राष्ट्रिय प्रणालीमा योगदान पुर्‍याउने निजी तथा सरकारी प्रवद्र्धकहरूलाई उनले धन्यवाद ज्ञापन गरे । ‘मुलुकको समृद्धि कुनै एक मन्त्री वा सरकारको मात्रै जिम्मेवारी होइन, यो हामी सबैको साझा प्रयासबाट मात्र सम्भव छ,’ उनले भने, ‘आउनुहोस्, समस्या छन् भने पहिचान गरौं, समाधान खोजौं र सम्भावनालाई परिणाममा बदलौं ।’

तपाईको प्रतिक्रिया