समाचार सुन्नुहोस :
काठमाडौँ – तीन वर्षदेखि नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडानको प्रतीक्षामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी असोज ७ गतेदेखि फ्लाई दुबईले पोखरा–दुबई सिधा उडान सुरु गर्ने तयारी गरेको छ। यसले पोखराको पर्यटन क्षेत्रमा नयाँ उत्साह थपेको छ।
सिधा हवाई सेवा सुरु हुने तयारीसँगै होटल संघ पोखराले सदस्य होटलहरूमा विशेष छुट, आकर्षक प्याकेज र अन्य अफर ल्याउने जनाएको छ। यस्तै, एयर अरेबियाले पनि पोखरा उडानको सम्भाव्यता अध्ययन गरिरहेको छ। थप अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी भित्रिए पर्यटन, होटल, रेष्टुरेन्ट, यातायात, रोजगारी र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
यद्यपि, पर्याप्त यात्रु नपाए उडान नियमित हुन नसक्ने चिन्ता व्यवसायीहरूमा अझै कायम छ। यसअघि सञ्चालन भएका अन्तर्राष्ट्रिय उडानहरू निरन्तर हुन नसकेको अनुभवले यस्तो आशंका बढाएको हो। तर, होटल संघ पोखराले यसपटक सकारात्मक वातावरण बनेकाले निराश हुनुपर्ने अवस्था नरहेको जनाएको छ। नियमित अन्तर्राष्ट्रिय उडानले पोखराको पर्यटनलाई नयाँ गति दिने विश्वास गरिएको छ।








