Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026

टोकियो – अमेरिकाले जापानलाई बिक्री गर्ने भनिएको अत्याधुनिक ‘टोमाहक’ क्रुज मिसाइलको आपूर्तिमा ढिलाइ हुने भएको छ । बेलायती पत्रिका ‘फाइनान्सियल टाइम्स’ ले सार्वजनिक गरेको एक रिपोर्टअनुसार, अमेरिकी रक्षा सचिव हेगसेथले जापानी रक्षा मन्त्री कोइजुमी शिनजिरोसँगको हालैको टेलिफोन वार्तामा यससम्बन्धी जानकारी दिएका हुन् ।

जापान सरकारले आफ्नो रक्षा क्षमता सुदृढ गर्न आर्थिक वर्ष २०२५ देखि २०२७ को बीचमा ४०० वटा टोमाहक मिसाइल प्राप्त गर्ने गरी अमेरिकासँग खरिद सम्झौता गरेको थियो । यद्यपि, स्रोतलाई उद्धृत गर्दै फाइनान्सियल टाइम्सले जनाएअनुसार अमेरिकाले निर्धारित समयभन्दा ‘दुई वर्ष’ सम्म ढिलाइ हुन सक्ने भन्दै जापानलाई सचेत गराएको छ ।

मिसाइल आपूर्तिमा ढिलाइ हुनुको मुख्य कारण मध्यपूर्वमा इरानविरुद्धको अमेरिकी सैन्य कारबाहीलाई मानिएको छ । इरानसँगको द्वन्द्वमा अमेरिकी सेनाले ठूलो मात्रामा टोमाहक मिसाइलहरू प्रयोग गरेपछि यसको मौज्दातमा कमि आएको हो ।

अमेरिकी थिङ्क ट्याङ्क ‘सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेशनल स्टडीज’ले अप्रिलमा सार्वजनिक गरेको प्रतिवेदनअनुसार, अमेरिकासँग रहेको कूल ३,१०० टोमाहक मिसाइलमध्ये करिब ३० प्रतिशत (१,००० भन्दा बढी) इरानविरुद्धको सैन्य अपरेशनमा प्रयोग भइसकेको छ । आफ्नै भण्डारमा मिसाइलको संख्या न्यून भएपछि अमेरिकाले जापानलाई दिने भनिएको कोटा तत्कालका लागि सार्नुपर्ने अवस्था आएको विश्लेषण गरिएको छ ।

जापानले क्षेत्रीय सुरक्षा चुनौतीहरूलाई मध्यनजर गर्दै ‘काउन्टर-स्ट्राइक’ (प्रतिरक्षात्मक आक्रमण) क्षमता विकास गर्न यी मिसाइलहरूलाई आफ्नो रणनीतिको मुख्य हिस्सा बनाएको थियो । आपूर्तिको समय पछि धकेलिँदा जापानको रक्षा योजना र सेनाको आधुनिकीकरण प्रक्रियामा समेत असर पर्न सक्ने देखिएको छ ।

तपाईको प्रतिक्रिया