टोकियो – नेवा: अन्तर्राष्ट्रिय फोरमको आयोजनामा नोवेम्बेर १८ तारिख आइतबारको दिन टोकियोको इचिगायास्थित एक हलमा म्ह पूजासहित नेपाल सम्बतको नयां बर्ष ११३३ हर्षोल्लासकासाथ मनाईयो ।
कार्यकमको सभापति श्रीमती ज्ञानु खातो मानन्धरले स्वागत गर्नुहुंदै सम्पूर्ण महानुभाबहरुलाई नेपाल सम्बत ११३३ को हार्दिक शुभकामना ब्यक्त गर्दै म्ह पूजामा सरिक हुनुहुनु सम्पूर्ण सहभागीहरुलाई हार्दिक अनुरोध गर्नुभएको थियो ।
कार्यकमको प्रमुख अतिथि जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराईले आफ्नो मन्तब्य दिदै सानै उमेरदेखि नेवार परिवारसंग भावनात्मक र घनिष्ट सम्बन्ध रहंदै आएको र म्ह पूजाले आफ्नो शरीर शुद्ध हुने विश्वास गरेको अनुभब बताउनुहुंदै जापानमा पनि यस्तो पबित्र म्ह पूजाले जिउको शुद्धिकरण गरि सम्पूर्ण नेपाली र जापानी दाजुभाई दिदिबहिनीसंग नेपाल सम्बत् ११३३ को शुभकामना आदानप्रदान गर्न पाउदा ज्यादै खुशी लागेको बताउनुभयो ।
अर्का बिशेष अतिथि जापान नेपाल सोसाइटीका अध्यक्ष तथा नेपालका लागि पूर्ब जापानी राजदुत कोजिमा मितासुआकीले पनि आफु नेपालमा राजदूत भएको बेला धेरै चाडपर्ब र संस्कृतिबारे अनुभब गर्न पाएको बताउनुभयो । प्रकृति, संस्कृति र सम्पदाका धनि नेपालको कुरा अहिलेसम्म अविस्मरणीय रहेको र जापानमा बसेर पनि नेपालको संस्कृति अनुसार म्ह पूजा गर्ने मौका पाएकोमा खुशी ब्यक्त गर्नुभयो ।
कार्यकमको राजदूत डा. भट्टराई र पूर्ब राजदुत कोजिमाले पानसमा बत्ति बालि संयुक्तरुपमा उदघाटन गर्नुभएको थियो ।
सो अवसरमा एनईएफजेका सल्लाहकार डा. राजध्वज श्रेष्ठले टोष्ट प्रस्ताव गरी सम्पूर्ण महानुभाबहरुलाई नेपाल सम्बत् ११३३ को शुभकामना दिनुभएको थियो । यसौगरी अर्का सल्लाहकार मदन नारायण मानन्धरले कार्यकममा प्रत्यक्ष्य अप्रत्यक्षरुपमा सहभागी र प्रायोजन गर्नुभएका ब्यक्तिहरु र संघसस्थालाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यकमका प्रायोजकहरुमा सांग्रिला कम्पनी, एक्रोस नं. १ ट्राभल, थाइम, धर्म रेष्टुरेन्ट, अनिता रेष्टुरेन्ट र जाइका रहेका थिए ।
कार्यक्रममा नेपाली दुताबासका उपनियोग प्रमुख तापस अधिकारी, एनआरएन जापानका अध्यक्ष ओम गुरुङ, नेपाली जनसम्पर्क समिति जापानका अध्यक्ष बलराम श्रेष्ठ, नेपाल आदीवासी जनजाती महासंघका महासचिब पासाङ शेर्पालगायत बिभिन्न नेपाली तथा जापानी संघसंस्थाहरुका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा नेवारी रात्रीभोज र नाचगानसहितको सांस्कृतिक कार्यकममा शुभकामना आदानप्रदान गर्दै सहभागीहरु रमाएका थिए ।
कार्यकममा जापानी नेपाली-भाषाको अनुबाद संस्थाका महासचिव जीबन शाक्यले गर्नुभएको थियो भने कायक्रमको संचालन संस्थाका केन्द्रिय सद्स्यद्वय गंगा डंगोल कुरिहारा र निला बिमोलीले गर्नुभएको थियो । ***













