Deneme Bonusu Veren Siteler
शनिबार, असार २७, २०८३
Saturday, July 11, 2026

टोकियो – जापानी रेलवेको करिब दुई दशक लामो परम्परालाई निरन्तरता दिँदै बुधबार ‘योन्तामा’ नामको बिरालोलाई स्थानीय रेलवे स्टेशनको तेस्रो ‘फिलाइन स्टेशनमास्टर’ (बिरालो प्रमुख) नियुक्त गरिएको छ ।

यो परम्पराले स्थानीय पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउनुका साथै आर्थिक सङ्कटमा परेको रेलवे सेवालाई जोगाउन समेत महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । वाकायामा इलेक्ट्रिक रेलवे कम्पनीको किशिगावा लाइनस्थित ‘किशी स्टेशन’ मा आयोजित एक विशेष समारोहका बीच यो नियुक्ति गरिएको हो ।

सोही अवसरमा कम्पनीले आफ्नो नयाँ प्रशिक्षार्थी बिरालो ‘रोकुतामा’ लाई पनि सार्वजनिक गरेको छ । योन्तामा भन्दा अघिकी स्टेशनमास्टर ‘नितामा’ को गत वर्ष नोभेम्बरमा मृत्यु भएको थियो । कम्पनीले नितामालाई सम्मानस्वरुप ‘मानार्थ स्टेशनमास्टर’ घोषणा गरेको छ ।

सन् २००७ मा ‘तामा’ नामको बिरालोलाई पहिलो पटक स्टेशनमास्टर नियुक्त गरेपछि किशिगावा लाइनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चर्चा बटुलेको थियो । डुब्न लागेको रेलवेलाई बचाउन सुरु गरिएको यो उपायले स्वदेशी तथा विदेशी पर्यटकहरूलाई आकर्षित गर्न ठूलो सफलता हासिल गर्‍यो । यसको सफलतासँगै जापानका अन्य सङ्घर्षरत स्थानीय रेलवेहरूले पनि कुकुर, खरायो तथा अन्य जनावरहरूलाई स्टेशनमास्टर नियुक्त गर्ने चलन सुरु गरेका छन् ।

वाकायामा प्रिफेक्चरको किनोकवास्थित स्टेशन भवन अगाडि आयोजित समारोहमा रेलवे कम्पनीका अध्यक्ष मित्सुनोबु कोजिमाले योन्तामाको घाँटीमा स्टेशनमास्टरको पदवी अङ्कित पदक लगाइदिएका थिए । उक्त दृश्य हेर्न भेला भएका सर्वसाधारणले ताली बजाएर नयाँ स्टेशनमास्टरको स्वागत गरेका थिए । ओसाकाबाट आएकी ५२ वर्षीया गृहिणी तथा पहिलो बिरालो स्टेशनमास्टर ‘तामा’ को पालादेखिकी प्रशंसक चिसाको आसियानोले भनिन्, ‘म आशा गर्छु कि यी बिरालो स्टेशनमास्टरहरूले किशिगावा लाइनको सधैं ख्याल राख्नेछन् ।’

तपाईको प्रतिक्रिया